अन्तर-सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र

सफल खबर संवाददाता

शनिबार, ०८ मंसिर २०८१, ०७ : १८
अन्तर-सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र

झापा । सशस्त्र प्रहरी बलले झापाको अन्तर-सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार राजस्व छलीलगायत गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सक्रियता बढाएको छ ।

सीमा सुरक्षाका सशस्त्रले लागि नियमित गस्ती, चेकजाँच र तालिमप्राप्त कुकुरको समेत प्रयोग गर्न थालेको हो ।

मेचीनगरको उत्तरी क्षेत्र बाहुनडाँगीबाट दक्षिणको गौरीगञ्जसम्म भारतसँग जोडिएको एक सय ४४ किलोमिटर सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलका चारवटा सीमा सुरक्षा गुल्म र १७ वटा बोर्डर आउट पोस्ट (बिओपी)हरु तैनाथ रहेका सशस्त्र प्रहरी बल २ नं गण चन्द्रगढीका सूचना अधिकारी मदन रसाइलीले जानकारी दिए ।

उनका अनुसार सीमा क्षेत्रका बासिन्दासँग सहकार्य गर्दै अपराध नियन्त्रणलाई थप सहज तुल्याउन सशस्त्र प्रहरी बलले झापाको सीमावर्ती २१ वटा वडामा वडास्तरीय सहजीकरण समिति गठन गरेको छ ।

चालु आर्थिक वर्षको चार महिनामा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्म र बोर्डर आउट पोस्टहरुले चार करोड ७८ लाख ४३ हजार ५५३ मूल्य बराबरको कर बीजक नभएको अवैध सामान बरामद गरेर भन्सारमा दाखिला गरेको सूचना अधिकारी रसाइलीले बताए ।

बरामद भएका मालसामानहरुमा लागूऔषध, मदिरा, लत्ताकपडा, सवारी साधन, चौपाया, मोटर पार्टस्, सुर्तीजन्य पदार्थ, हार्डवेयर, मासुजन्य, किराना सामान लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस