काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न लकडाउन घोषणा भएसँगै विद्युत्को माग (लोड) पनि ह्वातै घटेको छ । बढी विद्युत् खपत गर्ने कलकारखाना,होटल, व्यापारिक भवन, कार्यालयहरु बन्द भएपछि विद्युत्को माग ह्वातै घटेको हो । विद्युत् लोडमा मुख्य रुपमा कलकारखाना, होटललगायतको योगदान रहेको छ । घरायसी प्रयोजनका लागि मात्रै विद्युत्को प्रयोग भइरहेकाले अहिले विद्युत्को लोड घटेको हो ।
लकडाउन सुरु हुनुभन्दा पहिले मुलुकभरको विद्युत्को अधिकतम माग (पिक डिमाण्ड) १ हजार २ सय मेगावाटको हाराहारीमा रहेकोमा मंगलबार घटेर ९ सय ४५ मेगावाटमा सीमित भएको छ । पिक डिमाण्ड साँझ ७ बजे रेकर्ड गरिएको हो ।
मंगलबार राति विद्युत्को माग ४ सय ८३ मेगावाटसम्म झरेको छ । बुधबार बिहान विद्युत्को माग अझै घटेर ४ सय ४६ मेगावाटसम्म पुगेको छ । मध्यान्ह १२ बजेको डिमाण्ड ६ सय २८ मेगावाट छ ।
विद्युत् बढी खपत हुने काठमाडौं उपत्यकाको विद्युत्को माग पनि ह्वातै घटेको छ । लकडाउनभन्दा पहिले विद्युत्को अधिकतम माग साढे तीन सय मेगावाटको हाराहारीमा रहेकोमा मंगलबार मुलुकभरको माग ९ सय ४५ मेगावाट हुँदा काठमाडौं उपत्यकाको २ सय ९० मेगावाटमा सीमित भएको छ । काठमाडौं उपत्यकामा मंगलबार विहान विद्युत्को माग १ सय ३ मेगावाट र राति १ सय १७ मेगावाट रेकर्ड गरिएको छ । बुधबार बिहान काठमाडौं उपत्यकाको विद्युत्को माग १ सय ४ मेगावाट मध्यान्ह १२ बजे १ सय ८२ मेगावाट पुगेको छ ।
अत्यावश्यक सेवाबाहेक अन्य कार्यालय र सेवा बन्द भएकाले अहिले घरायसी प्रयोजनका लागि मात्रै विद्युत् प्रयोग भइरहेकाले माग ‘ड्रास्टिकल्ली’ घटेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । ‘उद्योग तथा कलकारखाना, व्यापारिक क्षेत्र बन्द भएको, विकास निर्माण ठप्प भएको र जाडो सकिएको तर गर्मी पनि सुरु भइनसकेको अहिलेको अवस्थाले गर्दा विद्युत्को लोड ह्वातै घटेको हो,’ कार्यकारी निर्देशक घिसिङले भन्नुभयो । ‘लकडाउनको कारण घरायसी प्रयोजनका लागि ग्याँसको अभावमा भएमा इन्डक्सन चुलो लगायतका विद्युतीय उपकरण ढुक्कसँग चलाउनु होला, हामीसँग पर्याप्त विद्युत् उपलब्ध छ ।’
घिसिङले पानी, हावाहुरी, प्राविधिक लगायतका कारण कुनै स्थानमा केहीबेर विद्युत् अवरोध हुन सक्ने भए पनि त्यसको मर्मतसम्भार गरी तत्काल सेवा सुचारु गराउन लकडाउनको बेला पनि कर्मचारीहरु चौबीसै घण्टा तयारी अवस्थामा रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ चैत्र २०७६, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रालयले स्पष्टीकरण सोधेपछि कुलमानले बुझाए कार्यसम्पादन विवरण
विद्युत् प्राधिकरणलाई इलेक्ट्रिकल इन्जिनियरको हब बनाउँछौँ : कुलमान घिसिङ
लोडसेडिङ हुँदा रमाउने जमात कति रहेछ, अहिले हेरिरहेको छु : कुलमान घिसिङ
कुलमानलाई आजको मन्त्रिपरिषदले निर्देशकबाट हटाउने तयारी
१५ दिनभित्र बक्यौता नबुझाए फेरि लाइन काट्छौँ : कुलमान घिसिङ
१५ दिनभित्र विद्युतको बक्यौता रकम नउठे प्रक्रिया अनुसार अघि बढ्छौँ : कुलमान घिसिङ