काठमाडौं । मोबाइल एपमार्फत भाडामा यात्रु बोक्दै आएका राइड सेयरिङ टुटल र पठाओले अब यात्रु ओसारपसार गरे कारबाहीमा पर्ने देखिएको छ ।
सरकारले पुनः तेस्रो पटक राइड सेयरिङलाई लक्षित गरेर सार्वजनिक सूचना जारी गर्दै प्रतिबन्ध लगाएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले मंगलबार सूचना जारी गर्दै टुटल र पठाओको नाम उल्लेख नगरी तिनीहरूले दिँदै आएको राइड सेयरिङ सेवामाथि रोक लगाएको हो ।
सूचनामा विभिन्न प्रयोजनका लागि दर्ता भएका सवारीसाधनलाई विभिन्न माध्यमबाट आफूखुसी भाडा तोकी सार्वजनिक सवारीका रूपमा प्रयोग गर्दा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १२ को उपदफा १ मा भएको कुनै एक प्रयोजनका निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनका निम्ति प्रयोग गर्न पाइने छैन भन्ने व्यवस्था विपरीत भएको जनाएको छ ।
विभागले त्यसो गरेको पाइएमा सोही ऐनबमोजिम कारबाही गरिने र सो सम्बन्धमा विभाग मातहत निकाय तथा अन्य सम्बन्धित निकायबाट कडाइका साथ अनुगमन गरिने जनाएको छ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस