काठमाडौँ । चेक बाउन्सको मुद्दामा फरार रहेका ठेकेदार मनोज भेटवालले प्रहरीसमक्ष आत्मसर्पण गरेका छन् । जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक समेत रहेका भेटवालले मंगलबार महानगरीय प्रहरी परिसर टेकू पुगेर आत्मसमर्पण गरेका हुन् ।
मंगलबार बिहान साढे ८ बजेतिर महानगरीय प्रहरी परिसर टेकुमा पुगेर भेटवालले आत्मसमर्पण गरेको परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए । बैंकिङ कसुर मुद्दामा उनलाई अदालतले पक्रन पुर्जी दिएको थियो ।
भेटवाल ठगी गरेको आरोपमा प्रहरीको खोजी सूचीमा रहेका थिए । काठमाडौंको पूरानो बसपार्कमा बन्न लागेको भ्यू टावरका मुख्य ठेकेदार भेटवाल भागेर भारत पुगेका थिए । प्रहरीले उनलाई खोजीरहेको थियो । 'मंगलबार बिहान उनी भारतबाट त्रिवि एयरपोर्ट हुदै प्रहरी परिसर टेकुआएका हुन्’ डीएसपी बोगटीले बताए ।
एपेक्स बैंक घोटला काण्डमा मुछिएका ‘क वर्ग’का ठेकेदार भेटवाल लामो समदेखि लुकेर बसेका थिए । उनको जलेश्वर स्वेछन्द विक्वोइ विल्डर्स कम्पनीले पुरानो बसपार्कमा भ्यु टावर बनाउने ठेक्का पाएको छ । पुरानो बसपार्कको २३ रोपनी जग्गामा भ्युटावर बनाउने भन्दै भेटवालको कम्पनीले खुलामञ्च कब्जा गरेको भन्दै सम्पदा अभियन्ताले वैशाखमा विरोध प्रदर्शन गरेका थिए । २२ फागुन ०७१ बाट काम थालेको विल्डर्सले अहिलेसम्म एक प्रतिशत पनि काम पूरा गर्न सकेको छैन ।
भेटवालमाथि ७५ लाख १० हजार चेक वाउन्सको उजुरी परेको छ । प्रहरी प्रवक्ता बोगटीका अनुसार भेटवाललाई बैकिङ कसुरमा पक्राउ पुर्जी जारी गरेर मंगलबारै अदालतमा म्याद थप्ने तयारी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ फागुन २०७६, १२ : १६
लेखकबाट थप