बैतडी । कुनै समय लटरम्म स्याउ फल्ने सतबाँझ फार्ममा अहिले पुराना स्याउका एउटा पनि बोट छैनन् । स्याउ उत्पादनका लागि चिनिएको यो फार्ममा स्याउ नासिएपछि अहिले विभिन्न प्रजातिका फलफूलको खेती विस्तार गरिएको छ ।
सतबाँझ सुक्खा फलफूल केन्द्रको २९ हेक्टर क्षेत्रफलमा अहिले केही नयाँ जातका स्याउ र हिउँदको समयमा फल्ने सुक्खा फलफूल लगाइएको केन्द्रले जनाएको छ । अहिले यो फार्म सुक्खा फलफूलको बेर्ना उत्पादन, परीक्षण केन्द्रका रूपमा विकास भइरहेको छ ।
केन्द्रका अनुसार केही वर्ष अघिसम्म मङ्सिरदेखि फागुनसम्म हिउँले डम्म ढाकिने सतबाँझको यो डाँडाको फार्ममा छ हजारभन्दा बढी स्याउका बोटबाट वार्षिक ४० टन स्याउ उत्पादन हुने गथ्र्यो । स्याउ फल्न छोडेपछि फलफूल केन्द्रले पछिल्लो समय ओखर र नास्पातीका बोट लगाए पनि स्याउकै कारण प्रसिद्धि कमाएको सतबाँझको इतिहास लोप हुने स्थिति रहेको छ ।
उजाड बन्न थालेको फलफूल केन्द्र जोगाउन अहिले ५५ हजार बोट ओखर, एक हजार जैतुन, कागजी बदाम लगाउन सुरु गरिएको छ । बागवानी विज्ञहरूका अनुसार स्याउ फल्न वर्षभरिमा एक हजार छ सय घण्टासम्म सात डिग्री सेल्सियसमुनि तापक्रम चाहिन्छ । अहिले यो ठाउँमा पाँच सय घण्टा पनि मुस्किलले सात डिग्री सेल्सियस तापक्रम पुग्छ ।
प्राविधिकहरूका अनुसार जलवायु परिवर्तनका कारण पुराना प्रजातिका स्याउका बोट हराएका हुन् । पुराना प्रजातिको स्याउ उत्पादन हुन छोडेपछि सतबाँझको इतिहास मेटिन नदिन अहिले फुजी, गाला र रेडग्रेड स्टिम प्रजातिका एक सय नयाँ स्याउका बोट रोपिएको फलफूल केन्द्रका प्राविधिक अर्जुन खड्काले बताउनुभयो ।
प्राविधिक खड्काका अनुसार अहिले रोपिएका स्याउका बिरुवा तीन वर्षमा फल्ने र एउटा बोटबाट १२ देखि १५ किलोसम्मका स्याउ उत्पादन हुनेछ । पहिलोपटक फर्ममा नास्पाती, ओखर, कागजी बदाम, खुर्पानीबाहेक किबीको पनि उत्पादन सुरु गरिएको छ ।
विद्यार्थीका लागि प्रयोगशाला
सतबाँझको विशाल फाँटमा कृषि प्रविधि पढ्ने विद्यार्थीले प्रयोगात्मक अध्ययन गर्ने अवसर पाएका छन् । कृषिको प्रयोगात्मक अध्ययन हुने सुदूरपश्चिमका झण्डै सबै इन्स्टिच्युटका विद्यार्थी सतबाँझमा आउने गर्छन् । हेर्दै, सिक्दै काम गर्न पाइएकोमा विद्यार्थी पनि दङ्ग छन् ।
बैतडीको वासुदेव माध्यमिक विद्यालयमा अध्ययनरत सीमा साउद बिरुवामा रङ लगाउने तयारी गर्दै हुनुहुन्थ्यो । “प्रयोगात्मक अध्ययनका लागि सतबाँझ फार्ममा सजिलो भएको छ । धेरै अभ्यास गर्न पाएका छौँ,” उहाँले भन्नुभयो । १८ महिनाको जेटीए
अध्ययन पाठ्यक्रम अन्तर्गत छ महिना प्रयोगात्मक अध्ययन गर्नुपर्ने हुन्छ । रोपिएका बिरुवाहरूमा कलमी गर्ने, काँटछाँट गर्ने, कलरिङ गर्ने, जग्गा रेखाङ्कन गर्ने, बिरुवा रोप्ने र रोपेका बिरुवाहरूको उपचार गर्ने काम विद्यार्थीले गर्दै आएका छन् । बिरुवामा कीरा नलागोस् भनेर चुनामा विभिन्न सामग्री मिश्रण गर्दै हुुनुहुन्थ्यो, निर्मला परियार ।
श्री सेतगाउँ मावि, गोकुलेश्वरमा कृषि प्राविधिक अध्ययनरत उहाँ विद्यालयबाट अभ्यासका लागि यहाँ आउनुभएको हो । बिरुवाहरूमा रोग कीरा नलागोस् भनेर तयार पारिने रङमा चुना, निलोतुथो, आलसको तेल र पानीको मिश्रणबाट बनाइएको झोल बिरुवामा लगाउँदा बिरुवा स्वस्थ भई बढ्ने उहाँले बताउनुभयो । गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
मुस्ताङमा स्याउ कुहिएर क्षति बेहोर्नुपर्ने समस्या हट्यो
जुम्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन
जुम्लामा स्याउ बेचेर ६१ करोड रुपैयाँ भित्रियो
मुस्ताङमा फल्यो अहिलेसम्मकै धेरै स्याउ, किसानले भित्र्याए ९२ करोड
सडक अभावले गोरखामा कुहिँदै करोडौँको स्याउ
दशैंलाई कोसेली मुस्ताङी स्याउ