दशैंलाई कोसेली मुस्ताङी स्याउ

सफल खबर संवाददाता

शुक्रबार, २५ असोज २०८१, १० : ३६
दशैंलाई कोसेली मुस्ताङी स्याउ

म्याग्दी । म्याग्दीको बेनीका अर्जुन सुवेदीले दशैंमा घरमा खान, पाहुुनालाई प्रसाद र मान्यजनकहाँ जाँदा कोसेली लैजान बिहीबार ३० किलो स्याउ किने।

“छिमेकी जिल्ला मुस्ताङमा उत्पादन हुने सिजनको फलफुल स्याउ स्वादिलो र रसिलो हुने भएकाले हरेक वर्ष दशैंमा कासेली लैजाने चलन छ”, उनले भने, “अन्य ठाउँमा उत्पादन हुने स्याउको तुलनामा मुस्ताङी स्याउ स्वादिष्ट र स्वस्थकर भएकाले ग्राहकको रोजाईमा परेको हो।”

लामो समयसम्म भण्डारण गर्न सकिने र आयातित भन्दा सस्तो भएकाले म्याग्दीलगायत गण्डकी प्रदेशका जिल्लामा दशैं तिहार जस्ता चाडपर्वमा मुस्ताङी स्याउको खपत धेरै हुने गर्छ।

बेनीका फलफूल पसलहरुमा बिहीबार दिनभर स्याउ किन्नेको चहलपहल थियो। बेनीका व्यापारी विद्यानन्द शाहले अन्य समयको तुलनामा स्याउको ब्यापार दश गुणा बढी भएको बताए।

“अघिपछि दैनिक १० किलोग्रामको अनुपातमा स्याउ बिक्री हुन्छ,” उनले भने, “दशैंको याममा दैनिक दुई सय किलोग्राम स्याउ ल्याउँदा पनि पुग्दैन।” विजयादशमीको टीका र जमरा लगाएपछि स्याउ, केरा, कुराउनी, अम्बा जस्ता फलफुल प्रसाद दिने चलन छ।

घरमा आउने पाहुनालाई प्रसाद दिने मात्र नभएर मान्यजनकहाँ दशैंको टीका, जमरा र आर्शीवाद लिन जाँदा पनि सजिलो हुने भएकाले स्याउनै बोकेर जाने गरेको बेनपा-२ की सुजता शर्माले बताइन्।

कृषक र व्यापारीहरुका अनुसार मुस्ताङमा उत्पादन भएको स्याउ दशैंमा धेरै खपत हुने गर्छ। स्याउ ब्यापारी सिवाङ तामाङले दशैंका लागि २० ट्रक स्याउ मुस्ताङबाट पोखराको मण्डीमा पठाएको बताए। दशैंमा माग उच्च हुुने भएकाले अघिनै टिपेर बजार पठाउने गर्छन्। चाडपर्वको समयमा स्याउले मूल्य पनि राम्रो पाउँछ।

बेनीमा प्रतिकिलोग्राम दुई सय २० का दरले मुस्ताङी स्याउ बिक्री भएको छ। मुस्ताङमा स्याउ जोन कार्यक्रम सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुुनिकीकरण परियोजनाका निमित्त वरिष्ठ कृषि विकास अधिकृत नेत्रप्रसाद भट्टले दशैंमा मुस्ताङमा उत्पादन भएको स्याउको ठूलो मात्रा खपत हुने बताए।

चाडपर्वको अलावा मुस्ताङ घुम्न आउने पर्यटक र पाहुुनाहरुले कोसेलीको रुपमा स्याउ, स्याउको सुुकुटी, स्याउको मदिरा, ओखर, जिम्बुु, स्थानीय जातको सिमिको दाल किनेर लैजान्छन्। दशैंअघिको तीज र पछिको तिहार तथा छठ पर्वका लागि पनि मुस्ताङको स्याउ बजार पठाउने गरिएको मार्फाका कृषक लालप्रसाद हिराचनले बताए।

मुस्ताङका बगैचामा पाकेका स्याउले बास्नादार भएका छन्। किसान र व्यापारीहरुलाई स्याउ टिपेर बजार पठाउने चटारो छ। यसपाली उच्च घनत्व जातको स्याउ भदौको १० र १५ गतेबाट टिप्न थालिएपनि स्थानीय जातको स्याउ असोज १ गतेदेखि टिपेर बजार पठाउन थालिएको थियो।

अनुकुल मौसम, बगैचा व्यवस्थापन, रोग, किराको समस्या कम देखिएकाले उत्पादन वृद्धिसँगै गुणस्तर पनि बढेको कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि प्रसार अधिकृत निशान खड्का मगरले बताए। गत वर्षको तुलनामा २५ देखि ३० प्रतिशतले स्याउ उत्पादन बढेको उनले बताए।

मुस्ताङको एक हजार ४७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकोमा ५८० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ। ३८ हेक्टर क्षेत्रफल जमिनमा इटलीबाट ल्याइएको उच्च घनत्वको स्याउ खेती भएको छ। गत वर्ष चार हजार नौ सय ७५ मेट्रिकटन स्याउ उत्पादन भएको र ४९ करोड २५ लाख बराबरको स्याउ बिक्री भएको कृषि ज्ञान केन्द्रको तथ्यांक छ।

प्रतिक्रिया दिनुहोस