कार्य सम्पादनमा कमजोर मानिएका एसएसपी थापाको काठमाडौं प्रहरी प्रमुख बन्न दौडधुप तीव्र

सफल खबर संवाददाता

मंगलबार, २१ माघ २०७६, ०८ : ५८
कार्य सम्पादनमा कमजोर मानिएका एसएसपी थापाको काठमाडौं प्रहरी प्रमुख बन्न  दौडधुप तीव्र

काठमाडौं । प्रहरी संगठनभित्र बढुवा र महत्वपूर्ण जिम्मेवारीको प्रश्न आउँदा के लाई आधार मानिन्छ होला ? मान्छेहरुले सोच्छन्,– योग्यता, क्षमता, वरिष्ठता, अनुभव आदि–इत्यादी । तर त्यस्तो देखिदैन् । पञ्चायतकाल देखि नै राजनीतिले गिजोलिएको प्रहरी संगठनभित्र पछिल्ला दिनमा राजनीतिकरण झन जब्बर रुपमा देखा परेको छ ।

कमजोर कार्यसम्पादन क्षमता भएपनि आफना मान्छे ‘पावर’मा छन् भने आफुभन्दा संगठनभित्र जतिसुकै अब्बल कोही छन् भने पनि त्यसलाई सहज पन्छाउन सकिन्छ भन्ने उदाहरण नेपाल प्रहरी संगठनभित्र अहिले देखा पर्न थालेको छ । यसैको एउटा उदाहरण हो – कार्यसम्पादन कमजोर रहेको भनी प्रहरी संगठनभित्रै चर्चा चल्ने गरेका एसएसपी दीपक थापाको ।

उनी अहिले प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखाका प्रमुख छन् । नेता देखि आफुमाथीका ‘हाकिम’का सधै दाहिना बन्न रुचाउने र चाप्लुसीमा बढी विश्वास गर्ने थापा अहिले काठमाडौं प्रहरी प्रमुख वन्ने दौडमा छन् ।

संगठनका समकक्षीहरु उनलाई ‘चाप्लुसीबाज’ नै भन्छन् । शीर्ष नेताहरुका अगाडी धाइरहन रुचाउने, मिठो बोलीमा नेताहरुलाई भूलभूलैयामा पार्ने र त्यसको लाभ उठाउन भने उनी अब्बल मानिन्छन् । त्यही आफ्नो चाप्लुसी कलावाट उनी अहिले काठमाडौं प्रहरी प्रमुख बन्ने लबिङमा दौडिरहेका उनकै समकक्षीहरु बताउँछन् । 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको ठेक्कापट्टाका हिसाब किताब मिलानका लागि थापालाई प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखा प्रमुख वनाईएको थियो । प्रहरीको रासनभत्ता, लत्ताकपडा, भवन निर्माण जस्ता ठेक्कापट्टामा अनियमितताको आरोपमा अख्तियारले खेद्न थालेपछि त्यसको सहज ब्यवस्थापनका लागि खनालले थापालाई आर्थिक प्रशासन महाशाखा प्रमुख बनाएर जिम्मेवारीमा ल्याएका थिए । 

उनले खनालका योजनामा काम गरेपछि ६४ औं प्रहरी दिवसका अवसरमा उत्कृष्ट प्रहरी ब्यवस्थापकको पुरस्कार हात पार्न सफल भएका थिए, २०७६ असोजमा । यो पुरस्कार थापाले यसकारण पाए, की उनले खनाललाई कतिपय आर्थिक लेनदेनका हिसाबमा सहजीकरण गर्ने र बाटो फुकाईदिने काम गरे । वेरुजु फर्छयौंटमा योगदान गरेको भन्दै खनालले थापालाई आफुलाई लगाएको गुनको ऋण उत्कृष्ट प्रहरी ब्यवस्थापकको पुरस्कार दिलाएर गरे । हुन त एसपीबाट एसएसपीमा बढुवा हुंदा पनि उनी गत वर्ष माघमै विवादमा परेका थिए ।

प्रहरी संगठनभित्र उनी भन्दा सिनियर एसपीलाई पछि पार्दै उनी एसएसपीमा बढुवा हुन सफल भएका थिए । त्यसबेला पनि उनको बढुवाको आधार भनेकै नेताहरुलाई उनले पारेको प्रभाव नै मुल कारण रहेको बताइन्छ । गृहले प्रहरी महानिरीक्षक खनालको नेतृत्वको सिफारिस समितिका आधारमा गत वर्षको माघमा १४ जना एसपीलाई एसएसपीमा बढुवा गर्दा परेका मध्येका एक थिए थापा ।

आफु भन्दा जुनियर, कार्यसम्पादनमा असाध्यै कमजोर मानिएका थापा बढुवामा परेपछि नरेन्द्र उप्रेतीले पदबाटै राजीनामा दिएका थिए । उप्रेतीभन्दा एक ब्याच जुनियर रहेका थापा लगायत, टेकप्रसाद राई र भीम ढकाललाई त्यसबेला एसएसपीमा बढुवा गरिएको थियो । उनको आपत्ति थापाको बढुवामै थियो ।

चाकडींकै भरमा वढुवा गरिएको आरोप त्यसबेला उप्रेतीले लगाएका थिए । उप्रेती १० फागुन २०७१ मा डिएसपीबाट एसपीमा बढुवा भएका अधिकृत थिए भने थापा ८ साउन २०७२ मा बढुवा भएका थिए । उप्रेतीसँगै बढुवा भएका १७ जना एसपीहरूलाई बढुवा नदिएर जुनियर एसपी थापाको बढुवा भएपछि प्रहरी संगठनमा त्यसबेला चरम निराशा छाएको थियो । पावरकै भरमा कहिले लुम्बिनी अञ्चल प्रहरी कार्यलय प्रमुख, कहिले चितवन प्रहरी प्रमुख त कहिले आर्थिक प्रशासन महाशाखाको प्रमुखको जिम्मेवारी उनले पाईसकेका थिए । 

जँहा–जँहा उनी प्रमुख भएर पुगे, त्यहाँ उनले आर्थिक कमजोरीमा रेकर्ड बनाउँदै जाने गरेको उनलाई चिन्ने जान्नेहरु बताउँछन् । चितवन प्रहरी प्रमुख भएर काम गर्दा पनि उनी यस्तै गतिविधिका कारण विवादमा परेका थिए । ०४ मंसिर २०७३ मा उनी चितवन प्रहरी प्रमुख भएर पुगेका थिए ।

थापाले लागू औषध, देहब्यापार र गुण्डागर्दी नियन्त्रणमा लिनु नै आफ्नो प्रमुख उद्देश्य बताएपनि भित्रभित्र भने त्यस्तै धन्दामा लागेकाहरुसँगको ‘सेटिङ’ मा काम गरेको चर्चा त्यसबेला चितवनमा हुने गरेको थियो ।

बोली एउटा तर काम भने अर्काे गर्ने थापाको धन्दा नै बनेको उनका सहकर्मीहरु बताउँछन् । बोल्दा मिठो बोली बोल्ने र मंत्रमुग्ध बनाई मान्छेहरुलाई छिटै पट्याउन सक्ने खुबी उनमा छ । त्यही चाप्लुसी खुवीकै कारण उनले एकपछि अर्काे जिम्मेवारीमा फड्को हानिरहेको उनकै संगठनभित्रका समकक्षीहरु चर्चा गर्छन् । अहिले उनी काठमाडौं प्रहरी प्रमुख हुने दाउमा लागेका छन् ।  त्यसका लागि शीर्ष नेता देखि पावरसेन्टरको लविडमा छन् । 

प्रतिक्रिया दिनुहोस