प्रदेश ३ को नाम र राजधानीको निर्णय लिन आज मतदान हुदैं

बाग्मतीमा सर्वसहमती, राजधानीका बारेमा दुई प्रस्तावमा मतदान

सफल खबर संवाददाता

आइतबार, २७ पुस २०७६, ०९ : २५
प्रदेश ३ को नाम र राजधानीको निर्णय लिन आज मतदान हुदैं

काठमाडौं । प्रदेश ३ को स्थायी राजधानी र नामका लागि आज मतदान हुदैंछ । सत्तारुढ नेकपाले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा बनाउन केन्दबाटै निर्देशन गरेपछि आज मतदान हुन लागेको हो । मतदान अहिले बिहान ९ देखि ११ बजेसम्म हुने कार्यतालिका प्रदेश सभाले बनाएको छ । नेकपाले प्रदेशका आफना सांसदहरुलाई ह्वीप लगाएको छ ।

प्रदेशको स्थायी राजधानीका लागि शनिबार दर्ता भएको प्रस्तावमाथि अहिले मतदान हुन लागेको हो । राजधानीको विषयमा दुईवटा प्रस्ताव प्रदेश सभामा दर्ता भएको छ । सत्ता र प्रतिपक्षले हेटौँडा र विवेकशील र साझा पार्टीले धुलिखेल राजधानी तोक्न छुट्टाछुट्टै प्रस्ताव दर्ता गराएका छन् ।

प्रदेश ३ को नामका लागि भने एउटै प्रस्ताव दर्ता भएको छ । नाम ‘बागमती’ मा सबैको सहमति जुटेको छ । प्रदेश सभाको शनिबारको बैठकमा स्थायी राजधानीका हेटौँडा कायम गरियोस् भन्दै नेकपा संसदीय दलका नेता एवं मुख्यमन्त्री डोरमणी पौडेलले प्रस्ताव दर्ता गरेका छन् । उनको प्रस्तावमा काँग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, राष्ट्रिय प्रजातन्त्र पार्टीका रीता माझी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का रीना गुरुङले समर्थन गरेकी थिइन् ।

विवेकशील नेपाली दलका रमेश पौड्यालले धुलिखेललाई स्थायी राजधानी कायम गरियोस् भन्ने छुट्टै प्रस्ताव दर्ता गरेका छन् । पौडेलको प्रस्तावमा साझा पार्टीका शोभा शाक्य र विवेकशील नेपाली दलका विराजभक्त श्रेष्ठको समर्थन छ ।

प्रदेश ३ को नामाकरण बागमती गरियोस् भन्ने कांग्रेस संसदीय दलका नेता बानियाँले गरेको प्रस्तावमाथि नेकपाका मुख्य सचेतक रामेश्वर फुयाँल, विवेकशील नेपाली दलका पौड्याल, साझा पार्टीका शाक्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका माझी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का गुरुङ समर्थक गरेका छन् ।

प्रदेश सभामा नेकपा, काँग्रेस, विवेकशील नेपाली दल, नेपाल मजदुर पार्टी, साझा पार्टी, राप्रपा, राप्रपा संयुक्त र स्वतन्त्र गरी १ सय १० सांसद छन् । प्रदेशको स्थायी राजधानी र नामाकरण गर्न दुई तिहाइ बहुमतबाट प्रस्ताव पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेश सभामा नेकपा एक्लैसँग दुईतिहाइ बहुमत भएकाले प्रदेशको राजधानी हेटौँडा पारित हुने निश्चत प्रायः छ ।
 

प्रतिक्रिया दिनुहोस