विद्यालय भवन उद्घाटन

सोमबार, २९ माघ २०७४, ०७ : १६

धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका–११ भिखोरीस्थित शान्तिबुद्ध आधारभूत विद्यालयको ६ कोठे भवन आइतबार उद्घाटन गरिएको छ ।

भूकम्पले क्षतिग्रस्त बनाएको सोे विद्यालयको भवन सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोग तथा नाङ्साल एशोसिएशन नेपाल, जिल्ला शिक्षा कार्यालय र रोशी गाउँपालिकाको समन्वयमा ६ कोठे पक्की भवन निर्माण कार्य सम्पन्न भएपछि आइतबार राष्ट्रिय योजना आयोगका सदस्य डा सुनिलबाबु श्रेष्ठ र सेभ द चिल्ड्रेनको देशीय निर्देशक नेटा वर्नलीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा योजना अयोगका सदस्य डा श्रेष्ठले देशको मेरुदण्ड नै शिक्षा भएकाले त्यसको विकासका लागि योजनाले आयोगले पहल गरिरहेको बताउनुभयो ।

रोशी गाउँपालिका–११ का वडाध्यक्ष मिलन लामाले भूकम्पपछि समस्या झेल्दै आएका विद्यालयका विद्यार्थीका लागि सबैको सहयोग र समन्वयमा पक्की भवन निर्माण गर्न सकेको बताउनुभयो ।

भूकम्पले सो विद्यालयको भवन पूर्ण रुपमा क्षति पु¥याएपछि जिल्ला शिक्षा कार्यालयले तत्कालीन अवस्थामा अस्थायी सिकाइ केन्द्र निर्माण गरी सहयोग गरेको थियो । विद्यालय भवनको अभावमा विगत करिब तीन वर्षअगाडि देखि अस्थायी टहरामा अध्ययन गर्दै आएको विद्यार्थी सेभ द चिल्ड्रेनको सहयोगमा दुई तलेको चारकोठे पक्की भवन, दुईकोठे एकतले भवन तथा शौचालय निर्माण गरेपछि सुविधासम्पन्न भवनमा पढ्न पाउने भएका छन् ।

सो विद्यालय भवन निर्माण लागि समुदायको रु ४३ लाख २३ हजार र सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोगमा नाङ्साल एशोसिएशन नेपालको समन्वयमा रु ७१ लाख ३७ हजार गरी कूल रु एक करोड १४ लाख ६० हजारमा सो विद्यालय भवन निर्माण कार्य सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर श्रेष्ठले बताउनुभयो ।

त्यसरी निर्माण भएको उक्त विद्यालय भवन र शौचालय बालमैत्री तथा अपाङ्गमैत्री रहेको छ । कक्षा ५ सम्मको पढाइ हुने सो विद्यालयमा ५८ जना विद्यार्थी रहेका छन् । (रासस)

प्रतिक्रिया दिनुहोस