बैसरीमा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, दुई घाइते

आइतबार, २८ माघ २०७४, १८ : ०१
बैसरीमा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, दुई घाइते

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा आज भएको बोलेरो जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

बेनीदेखि शिख जाँदै गरेको ग १ ज ५७६० नम्बरको बोलेरो बेनी–जोमसोम सडकखण्डअन्तर्गत रिठाबोटमा सडकबाट करिब १०० मिटर तल कालीगण्डकी नदीको किनारमा खसेको थियो ।

जिप दुर्घटनामा गम्भीर घाइते भएकामध्ये दुई जनाको उपचारको क्रममा जिल्ला अस्पतालमा निधन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख शिवप्रसाद पाठकले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा बोलेरो चालक म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ का भूपिन पुन र यात्रु शिखकै रितु तिलिजा पुन रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परी घाइते अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेकी कल्पना गर्वुजा र पोखरा अर्चलबोट बस्ने दीपा पुनलाई थप उपचारका लागि पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ ।

बेनीदेखि शिख जाँदै गरेको सो जिपमा चालकसहित पाँच जना सवार रहेको घाइतेले बताए पनि अहिलेसम्म एक जनाको अवस्था पत्ता लाग्न नसकेको घटनास्थलमा पुग्नुभएका प्रहरी नायब निरीक्षक मीनबहादुर थापाले जानकारी दिनुभयो । दुर्घटनालगत्तै स्थानीयवासी र प्रहरीद्वारा घाइतेको उद्धार गरिएको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस