उत्तर कोरियाली प्रतिनिधिमण्डलद्वारा शनिबार दुई महत्वपूर्ण व्यक्तित्वहरुसँग भेटवार्ता

शनिबार, २७ माघ २०७४, १४ : ००
उत्तर कोरियाली प्रतिनिधिमण्डलद्वारा शनिबार दुई महत्वपूर्ण व्यक्तित्वहरुसँग भेटवार्ता

एजेन्सी । शीतकालीन ओलम्पिक खेलको उद्घाटनका लागि हाल दक्षिण कोरियामा रहेको उत्तर कोरियाको उच्चस्तरीय प्रतिनिधिमण्डलले शनिबार बिहान दक्षिण कोरियाका राष्ट्रपतिसँग भेट गरेको छ ।  उक्त प्रतिनिधिमण्डलको नेतामा उत्तर कोरियाको संसद्का प्रमुख तथा यहाँको राजनीतिक प्रणालीअनुसार आलंकारिक राष्ट्रपतिसमेत मानिनुहुने किम योङ नाम रहेका छन् ।

उनका साथै उक्त प्रतिनिधिमण्डलमा उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनी पनि रहेकी छन् ।  उनकी बहिनी किम यो जोङ पनि उत्तर कोरियाली सत्तारुढ वर्कस् पार्टीको केन्द्रीय समितिको उपनिर्देशक हुन् । यी दुई कोरियाको इतिहासमा यति उच्च तहको सरकारी प्रतिनिधिमण्डलबाट गरिएको यो धेरै लामो समयपछिको भ्रमण हो ।

उनीहरु दुई जनासहितको चार सदस्यीय प्रतिनिधिमण्डल शनिबार बिहान दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनको कार्यालयमा ब्लु हाउसमा पुगेका थिए ।  उक्त प्रतिनिधिमण्डल दक्षिण कोरियामा हिजोबाट सुरु भएको शीतकालीन ओलम्पिक खेलकूदको उद्घाटन सत्रमा सहभागिताका लागि शुक्रबार दक्षिण कोरियाको राजधानी सोल पुगेका थिए ।

यस भ्रमण तथा दक्षिण कोरियाका राष्ट्रपतिसमक्ष भएको यस भेटघाटलाई दुई कोरियाको इतिहासमा एक महत्वपूर्ण घटनाका रुपमा लिइएको बताइएको यहाँका स्थनीय तथा राष्ट्रियस्तरका सञ्चारमाध्यमले जनाएका छन् ।  सन् २००९ पछि उत्तर कोरियाको तर्फबाट यो स्तरका प्रतिनिधि दक्षिण कोरिया पुगेका समाचारमा जनाइएको छ । उनीहरुकाबीच भएको यस भेटघाटका क्रममा के विषयमा कुराकानी भयो भन्ने बारेमा भने केही बताइएको छैन ।

यसैबीच उक्त प्रतिनिधिमण्डलका नेता नामले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेससँग पनि संक्षिप्त भेट गरेको बताइएको छ ।  उनीहरु शुक्रबार दक्षिण कोरियामा आयोजना भएको शीतकालीन ओलम्पिकको उद्घाटन समारोेहमा सहभागी भएका थिए । सोही समारोहमा नै उनीहरुबीच भेट भएको थियो ।

संयुक्त राष्ट्रसंघका उपप्रवक्ता फराहन हकले भने, उनीहरुबीच उक्त समारोहमा सहभागिताका समयमा संक्षिप्तरुपमा ‘साइडलाइन’ भेट भएको थियो ।  उक्त भेटवार्तामा भएको कुराकानीका बारेमा भने उनले केही बताएका छैनन् । तर उत्तर कोरियाको तर्फबाट यहाँ सहभागी यति उच्चस्तरीय अधिकारीसँग भएको यो भेटलाई महत्वपूर्ण मानिएको उनले विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएका छन्  ।

प्रतिक्रिया दिनुहोस