जिउँदै चल्ला मार्ने अभियानको विरोधमा पशु अधिकारकर्मी

सफल खबर संवाददाता

शुक्रबार, ०४ पुस २०७६, १५ : २४
जिउँदै चल्ला मार्ने अभियानको विरोधमा पशु अधिकारकर्मी

काठमाडौं । नेपाल ह्याचरी उद्योग संघको आह्वानमा यतिबेला ब्रोइलर र कोइलर जातको कुखुराको जिउँदा चल्ला मार्ने अभियान देशभर चलिरहेको छ । पशु अधिकारकर्मीहरुले जिउँदै चल्ला मार्ने अभियानको विरोध गरेका छन् । 

उत्पादनले बजार नपाएको भन्दै मंसिर २८ बाट संघले चल्ला मारेर गाड्ने अभियान सुरु गरेको हो । पुस ८ सम्म अभियान जारी रहने बताइएको छ । कतै ह्याचरीबाट जिउँदै चल्ला खाल्डोमा पुरिएका छन् भने कतै चल्ला उत्पादनका लागि तयार सिञ्चित अण्डा नष्ट गरिएका छन् ।

भारत लगायतका मुलुकमा यसअघि ‘चिकेन होलिडे’ नाममा यस्तै अभ्यास भएको थियो । त्यसैको सिको संघले गरेको छ । तर, यस्तो अभियानले व्यवसायीलाई ठूलो आर्थिक क्षति पुग्ने त छ नै, पशुअधिकारको दृष्टिले पनि यो आपत्तिजनक क्रियाकलाप हो । पशुअधिकारकर्मीहरुले यस्तो कार्यको विरोध गरेका छन् ।

नेपाल ह्याचरी उद्योग संघ नेपालभर चल्ला उत्पादन गर्ने २८० हाराहारी उत्पादकहरुको छाता संगठन हो । 

यतिबेला देशैभर आफू र आफ्ना माताहतका उत्पादकका चल्ला नष्ट गर्न संघ लागिपरेको छ । साठ्ठी लाख चल्ला उत्पादन रोक्दा ह्याचरी व्यवसायीलाई तत्काल ३३ करोड हाराहारी नोक्सान पुग्ने छ । 

पशुअधिकारका लागि काम गर्दै आएको संस्था एसपीसीए नेपालका अध्यक्ष विकेस श्रेष्ठले यस्तो जिउँदा पशुपन्छीलाई खाल्डोमा पुर्ने काम कुनै पनि बहानामा सहन नसक्ने जनाएको छ ।  

‘यो काम अमानवीय र निर्दयी हो, हामी यसको तीव्र निन्दा गर्छौं,’ उनले भने, ‘व्यवसायीले आफ्नो समस्या समाधानको अरु उपाय खोज्नुपर्छ ।’

उनले यो अभियानको विरोधमा पशु अधिकारका पक्षमा काम गरिहेका संस्थाहरुले संयुक्त कदम चाल्ने तयारी भइरहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस