चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुनको पहिलो साताभित्रै वामपन्थीको सरकार गठन र पार्टी एकता हुने बताउनु भएको छ ।
प्रेस सेण्टर चितवनले शुक्रबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘फागुन ६ गतेसम्ममा नयाँ सरकार गठन हुन्छ । मेरो कोशिस सरकार गठनभन्दा अगाडि नै पार्टी एकता टुंगियोस् भन्ने छ । त्यसो हुन नसकेको खण्डमा सरकार गठन र पार्टी एकता प्रकृया सँगसँगै अगाडि बढाउँछौं ।’
पार्टी एकताबारे संयोजन समितिको बैठकबाटै अन्तिम टुंगो लगाइने उहाँले बताउनु भयो । ‘ओलीजी पनि पहिले पार्टी एकता टुंग्याएर सरकार गठनमा जाने पक्षमै हुनुहुन्छ’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘ओलीजी र मबीच कुरा मिलेरमात्रै पनि पार्टी एकता हुने होइन । त्यसैले पार्टी एकता संयोजन समितिबाटै एकताको टुंगो लगाउँछौं ।’ पार्टी एकता प्रकृयाको केन्द्रमा वैचारिक पक्ष पनि रहने उहाँको भनाइ थियो ।
पदको भागबण्डा नमिलेर पार्टी एकतामा ढिलाई भएको आरोप अस्वीकार गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘पद नमिलेर एकतामा विलम्ब भएको भन्ने होइन । पदको समस्या हुँदैन । दुई वटा पार्टीको सेटिङ कसरी मिलाउने भन्ने कुराले विलम्ब भएको हो । पदबारे कुनै समस्या छैन ।’ पार्टी एकता सम्बन्धी अहिलेसम्मका वार्ता सकारात्मक रहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाइ थियो ।
‘पार्टी एकता हुन्छ, त्यसको मोडालिटीको तयारीमा हामी जुटेका छौँ’ उहाँले भन्नुभयो, ‘एकताको वार्ता कहिल्यै नकारात्मक भएको छैन । सधैं सकारात्मक नै रहेको छ । संयोजन समितिको आगामी बैठकबाट अन्तिम रुप दिँदैछौं ।’ भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणले पार्टी एकता प्रकृयामा असर पारेको भन्ने हल्लामा कुनै सत्यता नरहेको अध्यक्ष प्रचण्डले स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस