प्रदेश ३ लाई मुलुककै नमुना प्रदेश बनाउछौँ : मुख्यमन्त्री पौडेल

मंगलबार, २४ मंसिर २०७६, १५ : ५९
प्रदेश ३ लाई मुलुककै नमुना प्रदेश बनाउछौँ : मुख्यमन्त्री पौडेल

चितवन । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश ३ लाई नमुना प्रदेश बनाउने बताएका छन् । चितवनको भरतपुर महानगरपालिका २७ को मेघौलीलाई प्रदेश ३ को नमुना पर्यटकीय गन्तव्य घोषणा तथा मेघौली राइनो पार्कको सिलान्यास कार्यक्रममा मुख्यमन्त्री पौडेलले यस्तो बताएका हुन् । 
प्रदेशको एकीकृत विकासका लागि कृषि र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेको पौडेको भनाई छ । विगत अढाई सय वर्षदेखि केन्द्रिकृत रुपमा रहेको सरकारले सोचे जति विकास गर्न नसकेको भन्दै पौडेलले सबै क्षेत्रको विकासका लागि प्रदेश सरकार गठन भएकाले अब मुलुकले काँचुली फेर्न सुरु गरेको दाबी गरे । 
उनले भने ‘हिजो पनि थियो नि सरकार, अढाई सय वर्षमा केन्द्रिकृत सरकारले कुन कुन स्थानमा, के कति विकास गर्यो ? तपाई हेर्नुहोस् प्रदेश सरकार बनेपछि अहिले विकासले फड्को मारेको छ, कृषि र पर्यटन क्षेत्रमा महत्वपुर्ण काम गरिरहेको छ ।’
उनले प्रदेश सरकार सब पालिकाको गल्लीगल्लीमा पुगीसकेको बताएका छन् । प्रदेश ३ सरकार गठन भएको २१ महिनामा १३ वटै जिल्लाको गल्लीगल्लीमा पुगिसकेको पौडेलले बताए । उनले भने, ‘सबै पालिकाको कुनाकुनामा, गल्लीगल्लीमा प्रदेश सरकारले उपस्थिति जनाइसकेको छ, योजनावद्ध रुपमा काम गरीरहेको छ, जुन स्थानमा गए पनि यो काम गरेको छ भनेर देखाउने अवस्था बनिसकेको छ ।’ 
चितवन सिंगो मुलुकको तेस्रो र प्रदेश ३ को दोस्रो प्रमुख पर्यटकीय गन्तव्य भएकाले विशेष प्राथमिकताका साथ प्रदेश सरकारले काम गरिरहेको पौडेलले बताए । चितवन, तनहुँ र नवलपुरको संगमस्थलमा रहेको धार्मिक पर्यटकीय स्थल देवघाटलाई सबै मिलेर विकास गर्नुपर्ने उनको भनाई छ । छिमेकी देशमा गईरहेका हजारौँ धार्मिक पर्यटकलाई रोक्न र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन देवघाटमा पुर्वाधार तयार पार्नुपर्नेमा मुख्यमन्त्री पौडेलको जोड थियो । 
मुख्यमन्त्री पौडेलले समृद्ध नेपालको सपना पुरा गर्न परम्परागत कार्यशैली परिवर्तन गरी दीर्घकालीन योजनाका साथ लगानी गर्नुपर्नेमा जोड दिए । उनले मनपरी ढंगले जथाभावी बजेट छर्दा विगतमा परिणाम नदेखिएकाले शैली बदलेर अघि बढ्न सबै पालिकालाई आग्रह गरे । 
विकासका लागी प्रदेश सरकारको मात्रै मुख नताकी महानगरपालिका, नगरपालिका, गाँउपालिकाले पनि कृषी र पर्यटनलाइ जोड दिन आग्रह गरे । पर्यटन र कृषीबाट मात्रै मुलुकको समृद्धि प्राप्त हुनेभएकाले सवै मिलेर लगानि गर्नुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस