- प्रकाश सिग्देल
चितवन । सर्प भन्नेबित्तिकै धेरैको सातो जान्छ, चाहे त्यो विषालु होस् वा विषरहित । अझ कतिपय मानिस त आफ्नो वरपर सर्प देख्नेबित्तिकै मार्न तम्सिहाल्छन् । तर, सर्प मार्ने हैन यसको संरक्षण गर्नु पर्छ भन्दै ३ वर्षदेखि लंकुका यामलाल भण्डारी सर्प संरक्षणमा लाग्नु भएको छ ।
४ वर्षदेखि घरभित्र भेटिएको सर्पलाई समात्ने र छाड्ने गरेको भएपनि ३ वर्षदेखि भने घरभित्र रहेका सर्पलाई समातेर ल्याएर केहि समय राख्ने र सर्प बिशेषज्ञसंग परामर्श गरी त्यसलाई जंगलमा लगेर छाड्ने काम गरेको उहाँको भनाई छ । आफूले हालसम्म १३९ वटा सर्प घर भित्रबाट समातेको उहाँले बताउनु भयो ।
आधा रातमा पनि फोन गर्नासाथ सम्बन्धित ठाउँमा पुगेर सर्पको उद्धार गर्ने गरेको उहाँ बताउनु हुन्छ । आफूले सम्पुर्ण सुरक्षाका विधि अपनाएर सर्पको उद्धार गर्ने गरेको र कसैसंग पनि आफूले पैसा नलिने गरेको उहाँ बताउनु हुन्छ । कसैले पैसा दिइहाले भने पनि अनाथालयमा गएर त्यो पैसा दान दिने गरेको भण्डारी बताउनु हुन्छ । यो काममा आफूलाई स्थानीय युवा रमेश गैरेले पनि साथ दिने गरेको उहाँको भनाई छ ।
सर्प प्रकृतिको सन्तुलन कायम राख्नका साथै निरोगी मानव जीवन बिताउन पनि आवस्यक हुने भएकाले यसको संरक्षण गर्नु पर्ने उहाँ बताउनु हुन्छ । सबै प्रजातिका सर्प एकै प्रकारका हुंदैनन् भन्ने भाव जगाउन सर्प बचाउ अभियान नै संचालन आवश्यक रहेको उहाँको तर्क छ ।
हिन्दु धर्ममा सर्पलाई देवता मानेर नाग पञ्चमीका दिन पूजा गर्ने गरिन्छ । पहाडमा हँुदा आमा र बुबाले नागको पूजा गरेको आफूले देखेकाले पनि सर्प संरक्षणमा आफू सरिक भएको उहाँको भनाई छ । पहाडी क्षेत्रमा गोमन, चिचिन्डे, हरेउ र कपरहेड सर्प पाइने गर्दछ । सर्प आफैंमा मानिसको शत्रु होइन तर यसलाई छुने, जिस्काउने र चलाउने गरे मात्र टोक्ने गर्दछ ।
सर्पको महत्व
सर्पले पनि पृथ्वीमा मानिसको जत्तिकै महत्व बोकेको हुन्छ । सर्प पनि पारिस्थितिक पद्धतिको एउटा अंग हो । सर्पले स–साना किराफट्यांग्रा, माछा, भ्यागुता, छेपारो, चरा र स्तनधारीलाई आहारा बनाउँछ भने चिल, बाज, न्याउरी मुसो आदि प्राणीले सर्प र तिनको अन्डालाई आहारा बनाउने गर्छन् । यसरी नै पारिस्थितिक पद्धति सन्तुलनमा रहेको हुन्छ ।
चिकित्सकीय दृष्टिकोणबाट पनि यसको महत्व रहेको छ । सर्पको विष एन्टिस्नेक भेनोम सेरोम बनाउन प्रयोग हुन्छ, जुन फेरि सर्पकै टोकाइको उपचारमा प्रयोग गरिन्छ । मानिसको ज्यान जोगाउन सक्ने अन्य धेरै औषधि सर्पको विषबाट निर्माण गरिन्छ । न्युरोटक्सिन र हेमोटक्सिन विषबाट बनाइएका औषधि मस्तिष्कको चोट, स्ट्रोक, मानसिक तनाव, हृदयाघात, रक्तचापको उपचारका साथै पीडा कम गर्ने औषधिका रूपमा प्रयोग गरिन्छ ।
यी सबै कुरा जानेर वा नजानेर हामी सर्प देख्नेबित्तिकै मार्न तयार हुन्छौँ । नेपालमा सर्पदंशको औषधि नबन्ने र हरेक वर्ष भारतबाट खरिद गर्नुपर्ने हुनाले प्रत्येक वर्ष नेपालका अस्पतालमा औषधि अपुग हुने गर्छ । नेपालमा पाईने सर्पहरुलाई समातेर नेपालमै प्रशस्त मात्रामा औषधि उत्पादन गर्न सके र समयमै बिरामीलाई अस्पताल पुर्याउन सके सर्पदंशबाट धेरैले ज्यान गुमाउनु नपर्ने उहाँको भनाई छ ।
सर्प, सर्पदंश र सर्प संरक्षणसम्बन्धी जनचेतनाको कमीका कारण मानिस र सर्पबीचको द्वन्द्व बढ्न गई दुवैले अकालमा ज्यान गुमाउनु परेको उहाँको ठहर छ । सबै सर्प विषालु हुँदैनन् । सर्पले मानिसलाई टोक्ने भनेको आफ्नो बचाउका लागि गर्ने प्रतिरक्षाको अवस्थामा मात्र हो ।
सर्पको मुख्य आहारा स–साना जीव जस्तै, मुसा, भ्यागुता, किराफट्यांग्रा आदि हुन् । सर्पले आफूलाई खतरा महसुस भएमा मात्र मानिसलाई टोक्ने वा आक्रमण गर्छ । खासमा सर्प मानिसलाई देख्दा सकेसम्म भाग्नै खोज्ने र आफूलाई चुनौती सिर्जना हुने देखेपछि मात्रै टोक्ने उहाँले बताउनु भयो ।
कसरी बच्ने
सर्पबाट बच्न सर्पलाई जथाभावी रूपमा समाउन खोज्ने, जिस्क्याउने र छुने गर्न हुँदैन । घरको वरिपरि दुलो छ भने त्यसलाई तुरुन्त टालिहाल्नु पर्छ । राति सुत्दा पलङमा सुत्नु र झुलको प्रयोग गर्नु सर्पबाट जोगिने राम्रो उपाय हो ।
सर्पको प्रकार
सर्पको लम्बाइ केही इन्चदेखि करिब ३२ फिट लामोसम्म हुन्छ । विश्वभर झन्डै तीन हजार पाँच सयभन्दा बढी प्रजातिका सर्प पाइन्छन् । जसमध्ये ६ सय प्रजातिका सर्प मात्र विषालु हुने गरेको बिभिन्न लेखहरुमा उल्लेख छ । नेपालमा विभिन्न अनुसन्धानबाट ८२ प्रजातिका सर्प पाइन्छन् भन्ने देखिएको छ । जसमध्ये अहिलेसम्म चिकित्सकीय महत्वका हिसाबले करिब १८ प्रजातिका विषालु सर्प पत्ता लागेको छ । नेपालमा तराईदेखि हिमालसम्म सर्प पाइन्छ ।
नेपालका विषालु सर्प इलापिडी, भाइपिरिडी र कोलुब्रिडी परिवार अन्तर्गत पर्ने बिज्ञहरु बताउँछन् । इलापिडी परिवार अन्तर्गत पनि धेरै विषालु सर्प जस्तै, गोमन, करेत सर्प पर्छन् । यिनमा न्युरोटक्सिन भेनोम हुन्छ ।
राजगोमन (किङ कोब्रा) विश्वकै सबैभन्दा लामो विषालु सर्प हो । यो नेपालमा पनि पाइन्छ । नेपालमा पाइने सबैभन्दा लामो अविषालु सर्प अजिंगर हो । विश्व स्वास्थ्य संगठनको तथ्याकं अनुसार नेपालमा बार्षिक एक हजार जनाले सर्पको टोकाईबाट ज्यान गुमाउने गरेका छन् ।
नेपालका २६ जिल्ला सर्पदंशबाट धेरै नै प्रभावित छन् । नेपालको तराई क्षेत्रमा सर्पदंश अर्थात् सर्पको टोकाइ डरलाग्दो समस्या हो । नेपालका सबै ठाउँमा सर्पदंशबाट प्रभावित र ज्यान गुमाउने मानिस अझ धेरै हुन सक्ने अनुमान गरिएको छ । कतिपय बिरामीले अस्पताल नपुगी झारफुक गर्ने हुँदा त्यसको वास्तविक तथ्यांक हालसम्म पनि अधुरै छ ।
सर्पको अध्ययन–अनुसन्धानमा सक्रिय नेपाल टक्सिनोलोजी एसोसिएसनको एक समूहले गरेको सर्वेक्षणअनुसार झन्डै ८० प्रतिशतभन्दा धेरै मानिसले सर्प मन नपराउने र धेरैजसोले देख्नासाथै मार्ने गरेका छन् ।
सर्पले टोकेमा के गर्ने
अविषालु सर्पले टोक्दासमेत हामी निकै धेरै आत्तिने गर्छौं । तर, डराउने र आत्तिने गर्नु हुँदैन । बिरामीलाई आरामदायी र सुरक्षित ढंगले पल्टिन लगाउनु पर्छ । कसिलो गरी लगाएको लुगा वा गहना खोलिदिनु पर्छ । टोकेको ठाउँलाई स्थिर राख्नुपर्छ । बिरामीलाई सक्दो चाँडो नजिकैको सर्पदंश उपचार केन्द्रमा लैजानु पर्छ ।
घरेलु उपचारका नाममा हामीले कैयौँ त्यस्ता काम गर्छौं, जुन सर्पले टोकेको बेलामा गर्नु हुँदैन । जस्तै, विभिन्न उपचारका नाममा समय खेर फाल्नुहुँदैन । सर्पलाई समात्ने वा चलाउने गर्नु हुँदैन । टोकेको हात वा खुट्टामा हलचल गर्नु हुँदैन, दौडनु हुँदैन । काट्ने, जलाउने, चुस्ने र चिरेर रगत झार्ने काम गर्नु हुँदैन ।
प्रतिक्रिया दिनुहोस
प्रकाश सिग्देल
सोमबार, १६ मंसिर २०७६, १७ : १४
लेखकबाट थप