काठमाडौँ । हामी जोकोही ज्वरो वा दुखाइमा प्यारासिटामोलको प्रयोग गर्दछौँ । तर यसको अधिक सेवनतर्फ हाम्रो खासै ध्यान पुगेको हुँदैन । प्यारासिटामोलको अधिक प्रयोगले लिभरसमेत खराब हुन सक्ने खतरा औंल्याइएको छ ।
ज्वरो वा दुखाइबाट राहत दिलाउनका लागि प्यारासिटामोल एउटा अब्बल औषधि हो । तपाईं वा तपाईंको नजिकमा यस्ता धेरै व्यक्ति हुन सक्छन्, जो ज्वरो वा दुखाइमा चिकित्सकको सल्लाहविनै प्यारासिटामोल लिएर खान्छन् । तर, प्यारासिटामोलको ज्यादा प्रयोगले कलेजोलाई गम्भीर हानी गछए भन्ने कुरा कमैलाई मात्र थाहा छ ।
हेल्थ प्रडक्टको सुरक्षासित जोडिएको फ्रेन्च एजेन्सी एएनएसएमले हालसालै घोषणा गरेको छ कि– प्यारासिटामोलयुक्त सम्पूर्ण औषधिमा ‘ओभरडोज डेन्जर’ मेसेज अवश्य लेख्नुपर्छ । नेपालमा पनि प्यारासिटामोलको प्रयोग आम रुपमा गरिँदै आएको छ । सामान्य दुखाइ तथा प्रारम्भिक ज्वरोमा अत्यधिक मात्रामा प्रयोग गरिँदै आएको प्यारासिटामोललाई साइडइफेक्ट नगर्ने तथा चिकित्सकको प्रेस्क्रिप्सनको समेत आवश्यकता नपर्ने औषधिका रुपमा बुझिँदै आएको छ, जुन सत्य होइन ।
मानिसहरु चिकित्सकको सल्लाहविनै सोझै औषधि पसलबाट किनेर यी औषधिको सेवन गर्छन् । जसलाई दुखाइ तथा ज्वरोले सधैँजसो सताउने गर्छ, त्यस्ता व्यक्ति बिस्तारै प्यारासिटामोलयुक्त औषधिको लतमा फस्दै जान्छन् । लामो समयसम्म यस्ता औषधिको सेवनले अनेकतरहका खतरा उत्पन्न हुन सक्छन् । नियमित प्रयोगमा ल्याइने प्यारासिटामोलले तपाईंको कलोजोलाई सम्पूर्ण रुपमा खराब गर्न सक्छ र तपाईंको ज्यानसमेत लिन सक्छ ।
चिकित्सकहरुले पनि आफ्नो प्रेस्क्रिप्सनमा प्यारासिटामोल अत्यधिक मात्रामा दिने गरेका छन् । वयस्कसहित बच्चाहरुलाई पनि यो औषधि खुब दिने गरिएको छ । वयस्कको तुलनामा साना बच्चाका लागि प्यारासिटामोलको अधिक प्रयोग झन् बढी खतरनाक हुन्छ, किनकि, उनीहरुका शारीरिक अंगहरु राम्ररी विकसित भइसकेका हुँदैनन् ।
चिकित्सकका अनुसार प्यारासिटामोलयुक्त दबाइको सेवन चिकित्सकको सल्लाहमा मात्र गर्नुपर्छ । यो औषधि सुरक्षित पनि भएको र असरकारी पनि भएको चिकित्सकको मत छ । केही हदसम्म सुरक्षित हुँदाहुँदै पनि यसको अत्यधिक प्रयोगले शरीरका केही भित्री अंगहरुमा नराम्रो प्रभाव पर्न सक्छ ।
मानिसहरु आजकल ज्वरो आउँदा वा दुखाइ महसुस हुँदा सोचविचार नै नगरी प्यारासिटामोलयुक्त औषधिको आफूखुसी सेवान गर्छन् । हामीलाई आश्चर्यजनक लाग्न सक्ने कुरा चिकित्सकहरु खुलासा गर्छन् कि, ड्रग्सको कारणले हुने कलेजोको खराबी र ट्रान्सप्लान्टका अधिकतम केसमा प्यारासिटामोलको अधिक प्रयोग कलेजो फेलको कारणका रुपमा पाइएको छ ।
एएनएसएमको रिपोर्टअनुसार यदि तपाईं दैनिक ४ ग्रामभन्दा बढी प्यारासिटामोलको प्रयोग गर्नुहुन्छ भने तपाईंको कलेजो २४ देखि ४८ घण्टाभित्रै ड्यामेज हुन सक्छ ।
प्रतिक्रिया दिनुहोस