नेकपामा लाइन : ओली र बादल एउटा, प्रचण्ड र बामदेव अर्को

सफल खबर संवाददाता

शुक्रबार, १७ जेठ २०७६, १४ : ०९
नेकपामा लाइन : ओली र बादल एउटा, प्रचण्ड  र बामदेव अर्को

काठमाडौँ । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक टेलिभिजन वार्तामा आलोपालो प्रधानमन्त्री हुने गोप्य सहमति भएको अभिव्यक्ति दिएसँगै नेकपाभित्र तरङ्ग पैदा भएको छ । प्रचण्डको अभिव्यक्ति सँगसँगै नेकपाभित्र लाइन देखिन सुरु भइसकेको छ । 

नेकपाका अध्यक्ष प्रचण्डले टेलिभिजनको अन्तर्वार्तामा प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एउटा जिम्मेवारी एक÷एक जनाले चलाउने गरी कार्यविभाजन हुनुपर्ने अभिव्यक्ति दिएका थिए । सरकारको नेतृत्व आलोपालो चलाउने गरी गोप्य सहमति भएको अध्यक्ष प्रचण्डले खुलासा गरेका थिए । 

प्रचण्डको यस्तो अभिव्यक्ति आएकै भोलिपल्ट नेकपाका सचिवालय सदस्य बामदेव गौतम प्युठान गएर यस अभिव्यक्तिको पूरा समर्थन गरेका छन् । गौतमले प्रचण्डको अभिव्यक्तिको समर्थनमात्र गरेनन्, सहमति कार्यान्वयन नभए पार्टी एकतासमेत भाँडिन सक्ने चेतावनी दिए । बामदेवको अभिव्यक्तिले नेकपाभित्र तरङ्ग सिर्जना भएको छ । अध्यक्ष प्रचण्ड र बामदेवको एउटै धारणा सँगसँगै सार्वजनिक हुनुले पनि उनीहरु एउटै कित्तामा रहेको प्रष्ट देखिन्छ । 
जेठ २० गते नेकपाको बैठक बस्दैछ ।

बैठकमा नेताहरुको कार्यविभाजन हुने स्रोतले बताएको छ । बैठकमा प्रधानमन्त्री ओलीले पाँच वर्ष आफैँले सरकार चलाए पार्टीको जिम्मेवारी प्रचण्डलाई दिनुपर्ने अडान बामदेवलगायतका नेताले लिने स्रोतले जनाएको छ । ओली आफैँले पार्टीको जिम्मेवारी लिने भए सरकारको नेतृत्व आलोपालो प्रणालीमा चलाउने विषयमा बैठकमा चर्को बहस हुने स्रोतको भनाइ छ । 

प्रधानमन्त्री र अध्यक्ष पद एउटै व्यक्तिमा केन्द्रित गरिन नहुने लाइनमा प्रचण्ड र वामदेव गौतम उभिएका छन् । यसअघि गौतमले आफूलाई सांसद बनाउन प्रचण्डले साथ दिए पनि प्रधानमन्त्री ओलीले रोकेको धारणा पार्टी निकटका नेताहरुलाई भन्दै आएका थिए । त्यसबेलादेखि नै बामदेव र प्रचण्ड एउटै लाइनमा रहँदै आएका छन् । 

नेकपाका सचिवालय सदस्य समेत रहेका वामदेव गौतमले प्रचण्डको लाइनलाई समर्थन गर्दै प्रधानमन्त्री ओलीले पार्टीको जिम्मेवारी प्रचण्डलाई दिएर सरकारको काममा बढी ध्यान दिनुपर्ने बताउँदै आएका छन् ।

गत मंसिर २९ मा बसेको पार्टी स्थायी कमिटीको बैठकमै नेता गौमतले एक व्यक्ति एक जिम्मेवारीको माग गरेका थिए । सो बैठकमा प्रस्तुत फरक दस्तावेजको १२ औं पृष्ठमा नेता गौतमले भनेका थिए, ‘अहिलेसम्मको अनुभवका आधारमा प्रधानमन्त्रीले पार्टी अध्यक्षको कार्यकारी भूमिका सफलतापूर्वक निर्वाह गर्न अनुकूलता भएको पाइएन ।’

नेकपाका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलको भूमिका पार्टीभित्र कुन लाइनमा छ भनेर स्पष्ट देखिएको त छैन, तर उनी पछिल्लो समय प्रधानमन्त्री ओली निकट देखिएका छन् । मन्त्री हुने बेला प्रचण्ड निकट रहेका बादल विस्तारै ओली निकट हुँदै गएका स्रोत बताउँछ ।

यसअघि प्रचण्डले काम गर्न नसक्ने मन्त्रीहरु फेरबदल हुन सक्ने बताइरहँदा प्रधानमन्त्री ओली र गहृमन्त्री बादलको एउटै श्वर थियो । उनीहरुले एउटै श्वरमा मन्त्री परिवर्तन नहुने धारणा राखेका थिए ।  आफ्नै गुट पनि राम्रोसँग चलाउन नसकेका बादल विस्तारै ओली लाइनमा देखिन थालेको चर्चा प्रचण्ड समूहमा पनि हुन थालेको छ । 

पार्टीभित्र बलियो समूहकै रुपमा देखिएको बादल समूहले प्रचण्डलाई छोडेर अध्यक्ष केपी ओलीतिर नजिक भएपछि प्रचण्डसमेत अचम्मित भएका स्रोत बताउँछ । हुन त, वादलले प्रचण्डले भनेको नमानेका भने छैनन् । दुबै अध्यक्षको ‘एसम्यान’ भएका वादल मन्त्री पद जोगाउनका लागि पनि अध्यक्ष ओलीतिर लागेको चर्चा नेकपामा देखिन्छ ।

कथमकदाचित दुई अध्यक्षबीच फाटो आउँँदा बादलले ओलीलाई समर्थन गर्न सक्ने आंकलन पूर्वमाओवादीहरूले गरेका छन् । नेपाल नागरिकता ऐन २०६३ को संशोधनमा बादलले लिएको पक्षधरताले उनी चर्को  विवादमा परेका थिए । प्रधानमन्त्री ओलीले साथ नदिएको भए बादलको मन्त्री पद सुरक्षित नहुने अवस्था रहेको थियो ।

अहिले प्रचण्डभन्दा ओलीसँग बढी सरसल्लाह लिन थालेका बादलले प्रचण्डलाई साथ नदिने बुझेर नै प्रचण्डले खुमलटारमा पनि यसबारे केही आशंका आफू निकटका नेताहरूबीच गरेका छन् । त्यही कारण कृष्णबहादुर महरा, वर्षमान पुन र जनार्दन शर्मालाई खुमलटारमै बोलाएर प्रचण्डले आपसी सल्लाह गरेका थिए । 
 

प्रतिक्रिया दिनुहोस