शक्तिशाली धामी बन्न बालकको बली, एक जना पक्राउ

सफल खबर संवाददाता

विहीबार, १६ जेठ २०७६, ११ : २७
शक्तिशाली धामी बन्न बालकको बली, एक जना पक्राउ

जनकपुरधाम । करिब एक महिनाअघि धनुषामा भएको अढाई वर्षीय बालकको हत्यामा धामीको संलग्नता रहेको पुष्टि भएको छ ।``
मिथिला नगरपालिका–६, ढल्केबरका शम्भु साहका अढाई बर्षीय बालक आर्यनको २४ वैशाखमा हत्या भएको थियो । अघिल्लो दिन साँझदेखि हराइरहेका बालकको शव घाँटी काटिएको अवस्थामा  फेला परेको थियो ।  प्रहरीले तीन साता लगाएर गरेको अनुसन्धानका क्रममा एक जनालाई पक्राउ गरेको छ । ढल्केबरकै शत्रुद्यन महतोलाई उनको घरबाटै बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनको साथबाट एक थान धारिलो हतियार, घटना गर्दाको बखत लगाएको गन्जी, गम्छा र धोतीसमेत बरामद भएको छ ।
पक्राउ परेका महतो धामीको काम गर्दै आएका थिए । तन्त्र विद्या सिद्वगरी शक्तिशाली धामी बन्न बालकको बली चढाएको पाइएको धनुषाका प्रहरी प्रमुख शेखर खनालले जानकारी दिए ।मृतक बालकको आमा रेणु देवी साह घाँस काट्न गएको बेलामा घरमा खेलिरहेका आर्यनलाई महतोले फकाएर लगेका थिए । आफनो घरमा बन्धक बनाएर राखेका उनले २४ वैशाखको बिहान २ बजेतिर शक्तिशाली धामी बन्ने अन्धविश्वासमा परी देवी देउताको नाममा बली दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

‘महतोले आफनै घर आँगनमा धारिलो हतियारले क्रुरुतापूर्वक घाँटी रेटी कर्तव्य गरी मारेको देखिन्छ’ जिल्ला प्रहरी प्रमुख खनालले भने, ‘हत्यापछि बालकको घर पछाडि कृष्णनन्दन महतोको खेतको झाडीमा फालेका थिए ।’

महतोलाई धनुषा जिल्ला अदालतमा पेश गरी पहिलो पटक दिन ७ को म्याद थप गरिएको छ । मृतक बालकका हजुरवुवा पिताम्वर साह हलुवाईले शत्रुधन महतोबिरुद्व अपहरण गरी शरीर बन्धक राखी मारेको ज्यान सम्बन्धी कसूरमा जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएका छन् ।

घटनाको इलाका प्रहरी कार्यालय ढल्केवर धनुषा, जिल्ला प्रहरी कार्यालय धनुषा, संघीय प्रहरी ईकाई कार्यालय जनकपुर र दुइ नं प्रदेश प्रहरी कार्यालय जनकपुर धनुषाको टोलीले अनुसन्धान गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस