क्रिकेट रंगशालाको बारमा डोजर लगाउने प्रकाश कँडेल पक्राउ

सफल खबर संवाददाता

विहीबार, १६ जेठ २०७६, ०७ : २८
क्रिकेट रंगशालाको बारमा डोजर लगाउने  प्रकाश कँडेल पक्राउ

चितवन । भरतपुर १५ मा निर्माणाधीन रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाउने मुख्य आरोपित प्रकाश कँडेल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले आरोपित कँडेललाई गत राति रामपुरबाट पक्राउ गरेको जनाएको छ । नेकपाका नेतासमेत रहेका कँडेल यतिबेला जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका छन् । यसअघि प्रहरीले रंगशालाका बार भत्काउने १६ जनालाई पक्राउ गरेको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा केही व्यक्तिले बार भत्काउने काम गरेकोप्रति स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन् । उनीहरुले बार भत्काउने कार्यमा संलग्न दोषीमाथि कारबाहीको माग गरेका छन् ।

गौतम वुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलको तारबार लगायतका संरचना केही व्यक्तिले भत्काइदिएका छन् । उनीहरुले डोजर लगाई जस्ताको बार लगायत केही संरचना पनि भत्काएको धुर्मुस सुन्तली फाउण्डेसनका कर्मचारीले बताएका छन् । स्थानीय नेकपा नेता प्रकाश कंडेलको नेतृत्वमा आएको समूहले डोजर लगाएर तारबारसहितको संरचना भत्काएको थियो ।

भत्काउने कार्यक्रमा संलग्न भएको आरोपमा प्रहरीले १६ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुसँग थप छानविन भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । 

स्थानीयले रंगशाला निर्माणका क्रममा सडक फराकिलो बनाउँदा आप्mनो जग्गा धेरै जाने भन्दै असन्तुष्टि जनाउँदै आएका थिए । शितलचोकबाट रामपुर निस्कने बाटो फराकिलो बनाउन रंगशालातर्फको जग्गा छाड्नुपर्ने माग उनिहरुको रहेको प्रहरीले जनाएको छ । बार भत्काउन प्रयोग भएको डोजर पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले घट्ना दुखद भएको बताएकी छन् । उनले छलफलको माध्यमबाट समस्या समाधान गर्नुको साटो तोडफोडमा उत्रिएको भन्दै दोषीलाई कारवाही गर्न प्रहरीलाई आग्रह गरिएको बताइन् ।

प्रतिक्रिया दिनुहोस