मुग्लिनको सडक खण्ड आज देखि १४ दिन बन्द हुने

बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र राति ९ बजेदेखि २ बजेसम्म आवतजावतमा रोक

सफल खबर संवाददाता

विहीबार, १६ जेठ २०७६, ०७ : ०४
मुग्लिनको सडक खण्ड आज देखि १४ दिन बन्द हुने

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिनको सडक खण्ड आजवाट १४ दिनका लागि बन्द हुने भएको छ । आगामी जेठ ३० सम्म उक्त सडक खण्ड बन्द हुन लागेको हो ।
तर ठप्पै भने हुने होइन । निश्चित समयमा मात्र सवारी आवत जावत हुन दिने गरी अरु समयमा सडक खण्ड वन्द गर्न लागिएको हो । जेठ १६ गते आजदेखि ३० गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र राति ९ बजेदेखि २ बजेसम्म बन्द गर्न लागिएको हो ।

दिँउसो ४ घण्टा र वेलुकी ५ घण्टा गरी दैनिक ९ घण्टा उक्त सडक खण्ड वन्द हुन लागेको हो ।
चितवन र तनहुँ जोड्ने मुग्लिनस्थित त्रिशूली नदीमाथि निर्माण भइरहेको आर्कब्रिजको निर्माणकार्य अन्तिम चरणमा रहेकाले दुवैतर्फको सडकको पर्खाल सतह कटिङ गरी टेवा पर्खाल लगाउने तथा सडक कालोपत्र गर्नुपर्ने भएकाले १४ दिन 
बन्द गरिने पुल योजना मध्यक्षेत्र सेक्टर नम्बर दुईले सूचना जारी गरी जनाएको हो । 

उक्त पुल निर्माणका लागि विश्व बैंकको रु १२ करोड लागत रहेको छ । पृथ्वी राजमार्गअन्तर्गत त्रिशूली नदीमा रहेको मुग्लिनको पुरानो पुल जीर्ण र कमजोर भएपछि विसं २०७१ बाट निर्माण शुरु गरिएको हो । विसं २०७५ को मसान्तमा काम सम्पन्न गर्नुपर्नेमा ठेकेदार कम्पनी एलाइट एड्भेञ्चर लोहनी जेभीले विविध कारण देखाउँदै समय थप मागेको थियो ।

थपिएको समय यही जेठ मसान्तमा सकिँदैछ । एक सय ६० मिटर लामो सो पुलको भाग १२० मिटर रहेको छ । सात दशमलव पाँच मिटरमा गाडी गुड्ने गरी बनाइएको पुल फुटपाथसहित ११ मिटर चौडा रहेको छ ।

मुग्लिन र तनहुँ जोड्ने निर्माणाधीन आरसिसी मोटरेवल आर्कब्रिज पूरा भएपछि दुईतर्फी आवागमन सहज हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस