मोदीको सपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री ओली आज दिल्ली जाँदै

सार्क र ईपीजीको प्रतिवेदन बुझ्ने विषयमा ओली र मोदीवीच छलफल हुने सम्भावना

सफल खबर संवाददाता

विहीबार, १६ जेठ २०७६, ०६ : ५३
मोदीको सपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री ओली आज दिल्ली जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज दक्षिणी छिमेकी मुलुक भारत जाँदैछन् । भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ओली मोदीको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् ।

ओली मोदीको आजै हुने शपथ ग्रहणमा सहभागी भई उनलाई बधाई तथा शुभकामना दिन नयाँदिल्ली जान लागेको उनको नीजि सचिवालयले जनाएको छ ।प्रधानमन्त्रीका साथ पत्नी राधिका, परराष्ट्र सचिव, सल्लाहकार, शिष्टाचार महापाल र केही सहयोगी भारत भ्रमणमा जानेछन् । प्रधानमन्त्री ओली शुक्रबार नै स्वदेश फर्कनेछन् ।
मोदीले दोस्रो कार्यकालका लागि राष्ट्रपति रामनाथ कोविन्दसमक्ष शपथ लिने कार्यक्रम छ । मोदी र उनको मन्त्रिपरिषदले आज नै सपथ ग्रहण लिँदैछन् ।

मोदीले पाकिस्तान वाहेक अन्य ५ ओटा छिमेकी मुलुकका कार्यकारी प्रमुखहरुलाई आफ्नो सपथ ग्रहणका लागि औपचारिक निम्तो गरेका छन् । सार्क मुलकका ७ राष्टमध्ये पाकिस्तान वाहेक का सवै देशका कार्यकारी प्रमुखलाई मोदीले आफनो सपथ ग्रहण कार्यक्रममा निम्तो गरेका हुन् । सार्कलाई छोडेर उनले विमस्टेकलाई प्राथमिकता दिन खोजेको देखिएको छ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रलाई निम्त्याइएका कारण पनि मोदीले विमस्टेकलाई पाथमिकता दिन खोजेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले शुक्रबार आमन्त्रित सरकार एवम् राष्ट्र प्रमुखसँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम छ । उनले बिम्स्टेक सदस्य राष्ट्रका कार्यकारीलाई सँगै राखेर पनि छलफल गर्नेछन् ।

प्रधानमन्त्री ओलीले नेपाल र भारतका दुईपक्षीय विषयमा कुराकानी गर्ने बताइएको छ । प्रधानमन्त्री ओली सार्क अध्यक्षसमेत रहेकाले सार्कको विषयलाई उठाउने उनी निकट अधिकारीले बताए । त्यस्तै उनले प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन बुझ्ने विषयमा भएको अलमलको विषयमा पनि कुरा उठाउने वताईएको छ ।

प्रधानमन्त्रीसँग छलफलमा राजदूत निलाम्बर आचार्य र सल्लाहकार डा. राजन भट्टराई पनि सहभागी हुनेछन् । आचार्य र भट्टराई ईपीजीका सदस्य हुन् । हैदरबाद हाउसमा हुने भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्था, नेपाल–भारत सम्बन्ध, क्षेत्रीय चासोलगायत विषयमा छलफल हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस