प्रधानमन्त्रीलाई राजेन्द्र महतोको प्रश्न : भाङ खाएर नीति तथा कार्यक्रम लेख्या हो ?

सफल खबर संवाददाता

आइतबार, २२ बैशाख २०७६, १३ : ३३
प्रधानमन्त्रीलाई राजेन्द्र महतोको प्रश्न : भाङ खाएर नीति  तथा कार्यक्रम लेख्या हो ?

काठमाडौं । राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले सरकारको नीति तथा कार्यक्रम भाङ खाएर लेखेको हो भन्ने प्रश्न गरेका छन् । 

आइतबारदेखि संसदमा सुरु भएको नीति तथा कार्यक्रम माथिको छलफलमा बोल्दै उनले  सरकारले ल्याएको नीति तथा कार्यक्रम जनताको अधिकार माथि दिनदहाडै डकैती गर्ने सफेद झुट भएको दावी गरे ।

संविधानको सर्वस्वीकार्यतामा अब विमती छैन भन्ने उल्लेख भएको प्रति उनले प्रश्न गरे–‘कहिलेदेखि संविधानमा विमती छैन ? कसरी लेख्यो यो नीति तथा कार्यक्रम ? आधा निद्रामा लेखेको हो कि कसो ? प्रधानमन्त्री जी हुनुहुन्न ? यो संविधानमा विमती नै छैन रे ? भो अब ।’
संविधानमा कसैको पनि विमती छैन भनेर सरकारले सफेद झूठ बोलेको उनको आरोप छ । ‘झुठको खेती जस्तै छ यो । जनताको अधिकारमाथि दिनदहाडै डकैती, जनता ढाँट्ने, जनतालाई गुमराहमा राख्ने, यस्ता कार्यक्रम घुसेको छ,’ महतोले भने । आफूहरुले सरकारलाई समर्थन दिने बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले रोष्टमबाटै संविधान संशोधनको आश्वासन दिएको महतोले स्मरण गरे । ‘विमती रोष्टमबाट स्वीकार गर्ने अनि यो नीति कार्यक्रममा विमती छैन भनेर लेख्ने ? भाङ खाएर नीति कार्यक्रम लेख्या हो र ?’

उनले पचासौँ पटक संसदमा आफ्नो दलले विमती जनाएको बताउँदै संविधानमा नोट अफ डिसेन्ट लेखेर प्रचण्डले नै विमती जनाएको बताए । उनले नीति तथा कार्यक्रममा कसरी यस्तो लेखियो भन्दै पश्न गरे ।

महतोले संविधान पूर्णरुपमा अझै स्वीकार गर्न नसकिएको बताए । तर, विमती छैन भनेर नीति तथा कार्यक्रममा लेखेर सरकारले संविधान नै संशोधन नगर्ने मनसाय राखेको उनले आशंका गरे ।
उनले संविधानलाई धर्मग्रन्थ जस्तो नठान्न चेतावनी दिए । ‘जबजब बाइबल, कुरान, गीता, महाभारत संविधानलाई बनाइन्छ नी त्यो संविधान गइहाल्छ, बाईबाई भइहाल्छ,’ उनले भने ।

महतोले विगतमा संसारकै उत्कृष्ट भनिएका ६ वटा संविधान अस्वीकार्य भएको तथ्यलाई ध्यान दिन आग्रह गरे । ‘केही पनि सुधार नगर्ने, विमती नै छैन भनेर यो संविधानलाई पनि विदाई गर्न खोजेको हो ?’ उनले भने, ‘यो त अपराध भइहाल्छ ।’ नेता महतोले यस्ता अहंकार तोडिनुपर्ने र संविधान संशोधन गर्नुपर्नेमा जोड दिए ।

उनले उप्रधानमन्त्री उपेन्द्र यादवलाई देखाउँदै भने–‘हाम्रो उपेन्द्र जी, उपप्रधानमन्त्री हामीसँगै लडेको हो । सयौँ मान्छे मार्न लगाएकै हो । अनि सरकारमा जान २ बुदेँ सहमती गरेकै हो । त्यो विमती नभएको भए किन सहमती गरेको हो । अनि विमती छैन ? के हो यो ?’

६ महिना नाकाबन्दी, चक्काजाम गरेर संविधानमा विमती देखाएको हैन भन्दै उनले सयौ मान्छेले ज्यान गुमाएको विमती हैन भन्दै प्रश्न गरे । उनले भने–जे मन लाग्यो त्यही लेख्दिने ? यसरी मुलक चल्ने हो ? आफैले विमती छ भनेर स्वीकार गर्ने अनि विमती छैन भनेर लेख्ने ? महतोले नीति तथा कार्यक्रम ७ नम्बर बुदामाथि संशोधन हालेको बताए ।


 

प्रतिक्रिया दिनुहोस