ओठमा प्राकृतिक चमक फर्काउन के गर्ने ?

विहीबार, १२ बैशाख २०७६, १४ : १६
ओठमा प्राकृतिक चमक फर्काउन के गर्ने ?

बढ्दो उमेरसँगै अन्य विविध कारणले कहिलेकाहीँ ओठको रङ परिवर्तन हुन सक्छ । कतिपय मानिस आफ्नो ओठमा प्राकृतिक रङ फर्काउन विभिन्न कस्मेटिक सामग्री प्रयोग गर्छन् । तर, केही त्यस्ता घरेलु उपाय पनि छन्, जसले तपाईंको प्राकृतिक चमकलाई ओठमा फर्काउन सक्छ । 

कालो हुने कारण
-अनियमित खानपान, अस्तव्यस्त जीवनशैली र धूम्रपानको असर ओठमा सीधै पर्छ । त्यस्तै, डिहाइड्रेसनले पनि यसमा समस्या निम्त्याउँछ ।  
-कफीको अत्यधिक सेवनले समस्या  निम्याउन सक्छ । 
-सस्तो र कम गुणस्तरका कृत्रिम सामग्रीको प्रयोग कम गर्नुहोस् । डेट एक्सपायर भएका लिपस्टिकको प्रयोगले पनि समस्या सिर्जना गरेको हुन सक्छ । 
-राति सुत्नुअघि मेकअप नहटाउने बानीले पनि ओठको रङमा बदलाव आउँछ । 
-प्रदूषण तथा घामको विकिरणका कारण पनि ओठ कालो हुन सक्छ । 

समाधानका घरेलु उपाय 
-ओछ्यानमा जानुअघि कागतीको रस ओठमा लगाउनुपर्छ । एकदेखि दुई महिनासम्म यो नियमित गर्न सकिन्छ । साथै, एक चिम्टी चिनी वा अलिकति मह ओठमा छर्किनुहोस् र कागतीको टुक्रा ओठमा दल्नुहोस् । यसले तपाईंको ओठको पुराना काम नलाग्ने कोषलाई ताजा र चम्किलो बनाइदिन्छ । 
-कालो ओठलाई गुलाबी बनाउन चुकन्दर पनि सहयोगी हुन्छ । यसमा भएको स्वाभाविक सेतो तत्वले  तपाईंको ओठ चम्किलो बनाउँछ । सुत्नुअघि -चुकन्दर लगाउने र बिहान सफा गर्ने गर्नुपर्छ । चुकन्दरको रातो रङले ओठलाई गुलाबी बनाइदिन्छ । 
-ओठमा भएका पुराना कोषिका, जसले तपाईंको ओठलाई कालो बनाएको छ, तिनलाई हटाउन हप्तामा एकपटक ब्रसले बिस्तारै घोट्नु राम्रो हुन्छ । तर, ओठमा घाउ हुने गरी घोट्नुहुँदैन । ओठबाहिर सामान्य रगड्दा बिस्तारै पुराना कोषिका हटेर नयाँ आउँदा तपाईंको ओठको सुन्दरता बढ्छ । यसका साथै जैतुनको केही थोपा र एक चम्चा चिनी मिसाएर ओठमा लेपन गरी रगड्दा पनि राम्रो हुन्छ ।
-ओठमा घिउकुमारी लगाएमा पनि चमक बिस्तारै फर्कन सक्छ । त्यस्तै, दूध र बेसार मिसाएर लगाउँदासमेत राम्रो हुन्छ । - नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस