- सुमन गैरे
चितवन । पछिल्लो समय भरतपुर अस्पतालमा कुपोषणको उपचार गर्न आउने बालबालिकाको संख्या बढ्दै गएको देखिन्छ । सन्तुलित भोजन खान नपाएर उचाइ अनुसार तौल कम भएका बालबालिका अस्पतालमा उपचार गर्न आउने गरेका हुन् । उनीहरुलाई सन्तुलित आहारा खुवाएर उपचार गरिन्छ ।
भरतपुर अस्पतालको पोषण पुनस्र्थापना केन्द्रबाट प्राप्त तथ्याङ्क अनुसार गत नौ महिनामा ९७ जना बालबालिका कुपोषणको उपचार गर्न आएका छन् । जसमा बालक ४९ जना र बालिका ४८ जना रहेका छन् । यो तथ्याङ्क गत साउन महिनादेखि चैत २२ गतेसम्मको हो । प्राप्त तथ्याङ्क अनुसार साउनमा १६, भदौमा १७, असोजमा ९, कात्तिकमा १५ र चैत २२ गतेसम्म ७ जना बालबालिका उपचार गर्न आएको पुनस्र्थापना केन्द्र प्रमुख एवम् कार्यक्रम संयोजक सुशीला काफ्लेले बताइन् ।
सन् २०१२ अप्रिलदेखि खुलेको पुनस्र्थापना केन्द्रमा हाल चितवन लगायत रुपन्देही, नवलपरासी, गोरखा, मकवानपुर लगायतका जिल्लाबाट बालबालिकाहरु उपचार गर्न आउने गरेको उनले बताइन् । उपचार गर्न आउनेमध्ये जनजाति र दलित समुदायका बालबालिकाको संख्या धेरै रहेको छ ।
कुपोषण भएर आएका बालबालिकालाई पुनस्र्थापना केन्द्रमा औषधि खुवाएर उपचार गरिँदैन । त्यहाँ त पारिवारिक वातावरणमा खानेकुरा पकाएर खुवाइन्छ । आमाको साथमा रहेका ती बालबालिकाहरुलाई सन्तुलित भोजनको तालिका बनाएर खुवाइन्छ । कार्यक्रम संयोजक काफ्लेका अनुसार आमाको साथमा रहेका बालबालिकालाई बिहान लिटो, अण्डा, दाल, भात, हरियो साग, मौसमी तरकारी र अचार खुवाइन्छ ।
दिउँसो १ बजे फलफूल र दूध, ४ बजे जाउलो, ७ बजे खाना र १० बजे दूध खुवाएर सुताएको बालबालिकालाई राति १ बजे र बिहान ४ बजे दूध खुवाउने गरेको काफ्लेले बताइन् । ती बालबालिकाको स्याहारसुसारको लागि सुशीलासहित ९ जना महिला कार्यरत छन् । ४ जना नर्सले सेवा दिएका छन् । सन्तुलित आहारा खुवाइसकेपछि ती बालबालिकाको तौल १५ दिनदेखि डेढ महिनामा बढ्ने गरेको सुशीलाको भनाइ छ । ‘त्यहाँ आमा र बच्चाले बसेर खाएको कुनै रकम तिर्नु पर्दैन’ उनले भनिन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार उचाइ अनुसारको तौल भएन भने बालबालिका कुपोषित हुन्छन् । जसअनुसार ६४ सेन्टिमिटर उचाइ भएको बालिकाको तौल ६ दशमलव ९ केजी र बालकको तौल ७ केजी हुनुपर्छ । उक्त तौलका बालबालिका ७ देखि ८ महिनाको हुनुपर्ने बताइएको छ ।
बालबालिका जन्मेपछि सन्तुलित भोजन नखुवाएमा, जंक फूड खुवाएमा, खानेकुरा खुवाउन नजानेमा, समयमा खोप नलगाएमा, बच्चाले आमाको दूध प्रशस्त खान नपाएमा र पोषणयुक्त खाना तथा सरसफाइको कमीले बालबालिकालाई कुपोषण हुने गरेको भरतपुर अस्प्तालका बालरोग विशेषज्ञ डा. नारायणबहादुर थापाले बताए ।
लामो समयसम्म ज्वरो आउने, खान मन नलाग्ने र जन्मँदै तौल कम हुने यसका लक्षण भएको डा. थापाको भनाइ छ । गर्भवती हुँदा आमाले प्रशस्त सन्तुलित भोजन नखाएमा जन्मिने बच्चामा पनि कुपोषण हुने उनले बताएका छन् । कुपोषण भएर समयममै उपचार नपाएका बालबालिकालाई निमोनिया, झाडापखाला, टिबी जस्ता रोग लाग्ने, शरीरको प्रतिरक्षा शक्ति कमजोर हुने डा. थापाको भनाइ छ ।
पोषण पुनस्र्थापना केन्द्रमा आएका बालबालिकालाई मात्र नभएर भरतपुर अस्पतालले बेलाबखतमा गाउँगाउँमा शिविर सञ्चालन गरेर पनि कुपोषित बालबालिकालाई ल्याएर उपचार गर्ने गरेको छ । गत माघ १३ र १४ गते मात्रै राप्ती नगरपालिकाको वडा नं. १२ मा सञ्चालन गरिएको शिविरमा १४ वर्षसम्मका २ सय ९३ बालबालिकामा कुपोषण देखिएको पुनस्र्थापना केन्द्रले जनाएको छ । तीमध्ये ५ वर्षमुनिका १ सय ७५ जना बालबालिका रहेको केन्द्रका कार्यक्रम संयोजक काफ्लेले जानकारी दिइन् ।
भरतपुर अस्पतालमा पोषण पुनस्र्थापना केन्द्र सञ्चालन गर्न सुरुमा नेपाल युथ फाउण्डेशन काठमाडौँ, दियालो परिवार र भरतपुर अस्पतालको महत्वपूर्ण भूमिका रहेको छ । अहिले यो केन्द्र प्रदेश नं. ३ को सामाजिक विकास मन्त्रालयबाट सञ्चालित छ । केन्द्रमा आएका बालबालिकाको सन्तुलित आहार र उपचारको लागि प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको कार्यक्रम संयोजक काफ्लेले बताइन् ।
भरतपुर अस्पतालमा रहेको पोषण पुनस्र्थापना केन्द्रको बारेमा महानगरको स्वास्थ्य शाखा भने बेखबर छ । पोषण केन्द्रका बारेमा अनभिज्ञता प्रकट गर्दै स्वास्थ्य शाखाका प्रमुख जीवन श्रेष्ठले भने, ‘महानगरमा पोषणको कार्यक्रमै छैन, यहाँ कुपोषण भएका आउँदैनन्, आइहाले भने अस्पताल जाउ भन्छौँ ।’ श्रेष्ठले कुपोषण भएका बालबालिकालाई उपचार गर्न भरतपुर अस्पतालको पुनस्र्थापना केन्द्रमा नपठाई अस्पतालमात्र जाउ भन्ने गरेको खुलासा गरे ।
भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले चालु आर्थिक वर्षको कार्यक्रममा पोषणसम्बन्धी कार्यक्रम नसमेटिएको बताएका छन् । आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा पोषणलाई प्राथमिकता दिइने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस