काठमाडौँ । साम्राज्ञी आरएल शाह भेट्रान निर्माता एवं कलाकार अशोक शर्माको फिल्म ‘रातो टिका निधारमा’ मा अनुबन्धित भएकी छिन् । साम्राज्ञीले यस फिल्मका लागि १६ लाख रुपैयाँमा पारिश्रमिक लिएकी छिन् । यससँगै साम्राज्ञी नेपाली चलचित्र क्षेत्रकी सबैभन्दा महंगी अभिनेत्री बनेकी छिन् । उनले यसअघि १५ लाख लिएर फिल्ममा काम गर्थिन तर पछिल्लो समय इन्टु मिन्टु लण्डनमाको रिलिजपछि साम्राज्ञीले आफनो नयाँ फिल्मका लागि त्यो भन्दा आर्कषक पारिश्रमिक लिएकीछिन् ।
यो पारिश्रमिक हाल चर्चित नायिकाहरुले लिने भन्दा सर्वाधिक बढी हो । यसरी अहिलेसम्म उनलाई पारिश्रमिकमा कुनै अभिनेत्रीले जित्न सकेका छैनन् । यसअघि साम्राज्ञीको पारिश्रृमिकलाई चुनौती दिँदै नायिका पुजा शर्माले सम्हालिन्छ कहिले मनमा १५ लाख पारिश्रमिक लिएकी थिईन् । यतिबेला पारिश्रमिकको मामिलामा भने साम्राज्ञी र पुजाबीच प्रतिष्पर्धा नै देखिएको छ ।
‘मारुनी’ को छायांकन पूरा भएलगत्तै साम्राज्ञीले ‘रातो टिका निधारमा’ गर्ने पक्का भएको छ । केही दिनयता निर्देशक शर्मा अभिनेत्रीको खोजीमा थिए । सोमबार बिहानमात्र साम्राज्ञीलाई उनले लिड अभिनेत्रीमा अनुबन्ध गरेका हुन् । उनी फिल्ममा निर्देशक शर्माका छोरा अंकित शर्माको अपोजिटमा देखिनेछिन् । यसअघि पनि निर्देशक शर्माले अभिनेत्री साम्राज्ञीलाई यस वर्षको दशैंमा प्रदर्शनमा आएको फिल्म ‘जय भोले’ मा अभिनेत्री स्वस्तिमा खड्काले निभाएको रोल अफर गरेका थिए ।
त्यसबेला उनी ‘इन्टु मिन्टु लण्डनमा’ को छायांकनमा व्यस्त भएका कारण उक्त फिल्म गर्न पाएकी थिइनन् । तर, उनले गाउँले रोल भएका कारण रिजेक्ट गरेको चर्चा सिनेवृतमा चलेको थियो । यो कुराको अभिनेत्री शाह र निर्देशक शर्माले खण्डन गरेका थिए । नीता ढुंगाना, रबिन्द्र झा, बुद्धि तामाङ, जयनन्द लामा, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरीलगायतका कलाकारहरुको पनि ‘रातो टिका निधारमा’ मा अभिनय रहनेछ । यस फिल्ममा दशक अगाडि प्रदर्शनमा आएको निर्देशक शर्मा निर्देशित सुपरहिट फिल्म ‘अल्लारे’ मा समावेश ‘रातो टिका निधारमा’ गीतलाई रि–एरेञ्ज गरेर राखिने छ ।
फिल्मको बैशाख अन्तिम साताबाट छायांकन सुरु हुँदैछ । अर्को वर्षको दशैंमा प्रदर्शनमा आउने निश्चित भइसकेको यस फिल्मलाई निर्देशक शर्माले नै निर्माण र निर्देशन गर्नेछन् । अहिले फिल्मको गीत रेकर्डिङको काम भइरहेको छ । साम्राज्ञीभन्दा अगाडि यो फिल्म अभिनेत्री जसिता गुरुङलाई अप्रोच गरिएको थियो । तर, उनले १० लाख डिमाण्ड गरेपछि सहमती हुन सकेको थिएन ।
प्रतिक्रिया दिनुहोस