– डा. अरुणा उप्रेती
रायो, चम्सुर र पालुङ्गोको सागमा प्रशस्त मात्रामा भिटामिन ए, भिटामिन सी, आइरन, पोटासियम पाइन्छ । साथै रेसादार पदार्थ पनि प्रशस्त हुन्छ । यसलाई फलामको भाँडामो पकाएमा आइरन अर्थात् लौहतत्वको शोषण राम्रोसँग हुन्छ । स्वाद र पौष्टिकतामा समेत वृद्धि हुन्छ । महिलाहरुमा आइरन तत्व आपूर्तिका लागि रायो, चम्सुर र पालुङ्गो उपयोगी मानिन्छ । तर यसलाई धेरै बेर पकाएमा यसको स्वाद र गुणस्तर नष्ट हुन्छ ।
नेपाली चलन अनुसार चम्सुर र पालुङ्गो मिलाएर पकाउने गरिन्छ । व्रत बसेको बेलामा त झन् चम्सुरको साग खानु शुद्ध र हल्का मानिन्छ । पालुङ्गो, फलफूल, बदाम, दही मिलाएर सलाद पनि बनाउन सकिन्छ । यसमा नून र कागती हालेपछि झनै मीठो हुन्छ । पालुङ्गोको पकौडा पनि बनाउन सकिन्छ । त्यसैगरी पालुङ्गो र चम्सुरमा आलु मिसाएर अचार बनाउन सकिन्छ । यसमा आवश्यकता अनुसार तिल वा आलसको छोप, टिमुर, नून, कागती, खुर्सानी हालेर स्वादिलो बनाउन सकिन्छ ।
निउँरो
कतै यसलाई निउँरो त कतै निगुरो भनिन्छ । पोष्टिकताले भरपूर भएर पनि कतिले त यसको नाम पनि सुनेका हुँदैनन् । यो प्रायः ओसिलो ठाउँमा पाइन्छ । यसमा भिटामिन ए र सी, केही प्रोटिन तथा कार्बोहाइड्रेट पाइन्छ । १०० ग्राम निउँरोमा ३४ क्यालोरी, ४.५५ प्रतिशत प्रोटिन, ०.४ ग्राम चिल्लो, १.३१ मि.ग्रा. आइरन पाइन्छ ।
निउँरो आँखाको रोग र प्रतिरोधात्मक शक्ति सुधार गर्नका लागि उत्तम मानिन्छ । यसलाई आलु र गोलभेँडासँग मिलाएर पकाउँदा स्वादिलो हुन्छ । निउँरो उसिनेर तिल वा आलसको छोप, नून, कागती मिलाई सलाद बनाएमा झनै पोषिलो हुन्छ । निउँरोको स्वाद थाहा नपाएकाले खान चाहँदैनन् । बिस्तारै स्वाद लिँदै जाँदा भने निउँरो मीठो लाग्दै जान्छ ।
फर्सीको मुन्टा
फर्सीको मुन्टामा प्रोटिन, भिटामिन ए, बी, सी, आइरन तथा आवश्यक खनिज पदार्थ धेरै हुन्छ । त्यसैले फर्सीको मुन्टा खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । घिउ हालेर फलामको भाँडोमा पकाएको फर्सीको मुन्टा र गोलभेँडाको तरकारीसँग भात मीठो हुन्छ । फर्सीको फूललाई पनि पकौडा र तरकारी बनाउन प्रयोग गरिन्छ ।
बेथे, लट्टे, तोरी, खोली आदि साग पनि स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यस्तो साग हाम्रै गाउँघरमा पाइन्छ तर यसको पोषण मूल्यको ज्ञान नभएकाले हामीले वास्ता गरेका हुँदैनौं । यी सबै हरिया सागमा भिटामिन तथा खनिज, रेसादार पदार्थ पनि प्रशस्त मात्रामा हुन्छ । प्रायः सबै हरियो तरकारीलाई फलामको भाँडोमा पकाउँदा र ज्वानोले झान्दा स्वादमा वृद्धि हुन्छ । यस्तो साग सजिलोसँग पच्ने पनि हुन्छ ।
पिँडालुको तरकारी
पिँडालुको तरकारी भिजाएको केराउ, आलु तथा मस्यौरा मिसाएर बनाउन सकिन्छ । त्यसमा अमिलो बनाउन तामा, टमाटर, कागती अथवा लप्सी मिसाउनुपर्छ । यसले गर्दा पिँडालुमा रहेको कोक्याउने कम हुनुका साथै स्वादिलो पनि हुन्छ । पिँडालुमा आलुमा भन्दा धेरै पोषक गुण हुन्छ । थोरै मात्र क्यालोरी हुन्छ । १०० ग्राम पिँडालुमा १४२ मात्र क्यालोरी हुन्छ । त्यसैले मधुमेह भएकाहरुका लागि पनि पिँडालु खानु स्वस्थकर हुन्छ । पिँडालुमा पोटासियम, क्याल्सियम, भिटामिन सी, ई, बी हुन्छ । उसिनेको पिँडालु नून–खुर्सानीसँग खाँदाको मज्जा नै अर्कै हुन्छ ।
यसलाई तरकारीको रुपमा पनि खान सकिन्छ । जाडो मौसममा कालो दालसँग मिसाएर पकाएको पिँडालुले शरीरलाई ऊर्जा प्राप्त हुन्छ । पिँडालुको पातलाई कर्कलो भनिन्छ । यसलाई हरियो सागको रुपमा खाइन्छ । पिँडालुको डाँठको अचार पहाडी भेगमा धेरै प्रख्यात परिकार हो । डाँठलाई कालो दालसँग मिसाएर मस्यौरा पनि बनाइन्छ । यो राम्रोसँग सुकाएर राखेपछि वर्षभरि प्रयोग गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस