काठमाडौँ । अभिनेता प्रदीप खड्काले आफू र चलचित्र लभ स्टेशनका प्रस्तुतकर्ता गोविन्द शाहीको तर्फबाट बारा–पर्साका प्राकृतिक विपत्ती पिडितलाई ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय बाराका जिल्ला प्रशासन प्रमुख राजेश पौडेल संयोजकत्वमा रहेको जिल्ला विपद व्यवस्थापन कोष बारामार्फत सो रकम पीडितहरुका लागि सहयोग गरिने अभिनेता प्रदीपले बताए ।
अभिनेता प्रदीपले आफूहरुले बारा–पर्साका पिडितलाई सहयोग गरेको बताउँदै सबैलाई सहयोगको लागि अपिल गरेका छन् । आइतबार साँझ एक्कासि आएको हुरीको कारण बारा–पर्सामा ठूलो संख्यामा जनधनको क्षति भएको छ । जसमा ३१ जनाको मृत्यु भैसकेको छ भने ४ सयको उद्धार गरिएको छ । जसमध्ये २ सय ८२ जनाको उपचार भइरहेको छ ।
उज्वल घिमिरेको निर्देशनमा तयार भएको चलचित्र लभ स्टेशन २२ चैतबाट देशव्यापी सिनेमा हुँदैछ । यो चलचित्रमा अभिनेता प्रदीपसँगै जसिता गुरुङ, रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय यसमा छ । लभ स्टेशनलाई काफिया फिल्मको व्यानरमा काफिया शाही (क्रिसु) र कविरबीक्रम शाहीले निर्माण गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ चैत्र २०७५, १९ : ३२
लेखकबाट थप