काठमाडौँ । ‘फिल्मी ब्लड’ हुन् सुहाना थापा । उनकी आमा झरना थापा नेपाली फिल्म क्षेत्रकी एक नामी अभिनेत्री हुन् । एकसमय उनले एकसेएक हिट फिल्म दिएकी थिइन् । अब उनलाई अभिनेत्रीमात्र भन्दा अन्याय हुन्छ । किनकि, उनले फिल्म निर्देशनमा पनि आफूलाई अब्बल प्रमाणित गरिसकेकी छन् । उनको निर्देशनमा बनेको फिल्म ‘ए मेरो हजुर २’ सुपरहिट साबित भएको थियो । अब यो फिल्मको तेस्रो सिरिज यही चैत २९ मा आउँदैछ ।
‘ए मेरो हजुर ३’ बाट सुहानाले फिल्म करिअर सुरुवात गरेकी छन् । झरना छोरी सुहानाले फिल्ममा उत्कृष्ट काम गरेको र फिल्म हेरिसकेपछि जो कोहीले उनको तारिफ गर्ने दाबी गर्दै आइरहेकी छन् । हुनत, फिल्मको सार्वजनिक दुई गीतबाटै उनको चर्चा निकै चुलिएको छ । हाइटमा प्रश्न उब्जिए पनि उनको सुन्दरता र ‘एक्सप्रेसन’ ले भने धेरैलाई प्रभावित बनाएको छ । उनलाई सम्भावना बोकेकी अभिनेत्रीको रुपमा हेर्न थालिएको छ ।
बुधवार राजधानीको बिग मुभिजमा यस फिल्मको ट्रेलर रिलिज कार्यक्रम राखिएको थियो । साथै, अभिनेत्री तथा निर्देशक झरनाको जन्मदिन सेलिब्रेसन पनि गरिएको थियो । साँझको करीब साढे ५ बजे अभिनेता अनमोलको पाखुरा समात्दै सुहाना हलको आँगनमा झुल्किइन् । दुईलाई देख्नसाथ मिडियाका तीन दर्जन बढी क्यामेराहरु एकाएक तेर्सिए । दुईले पनि फिल्मको ब्यानर अगाडि पोज-पोजका तश्बिर खिचाए ।
रोचक दृश्य त के देखियो भने सुहानाले मिडियासँग तश्बिर खिचाउँदा मात्र नभई हलको सिढी चढ्दासमेत अनमोलको पाखुरा समात्न छाडिनन् । अग्लो हिलवाला सेन्डल अनि सम्हाल्नै मुश्किल हुने पहिरनले उनलाई पाइला चाल्न निकै गाह्रो भएको देखिन्थ्यो । तर, अध्याँरो हलको आँखाले ठम्काउनै मुश्किल पर्ने सिढी चढ्दा समेत उनले पाखुरा नछाड्दा अनमोललाई नै गाह्रो महशुस भएको उनको अनुहारको भावले प्रष्ट बुझाउथ्यो ।
एक पाइला सार्दा पनि सुहानाले अनमोलको पाखुरा नछाड्नुले दुई कुरा जनाउँछ । पहिलो, उनमा अनमोलको साथमा हिँडेपछि मिडियाको ध्यान आफूबाट नहट्ने लोभ हुनसक्छ । दोस्रो, निर्माण टिमले सुहानालाई अनमोलको पाखुरा समातेरै मिडियासामु प्रस्तुत गर्ने पूर्वतयारी गरेको हुनुपर्छ । जे भए पनि, दुईको जोडी भने कमालको देखिएको थियो । पहिलो पटक एकसाथ देखिएका कारण पूरै मिडियाको ध्यान उनीहरुले आफूतिर केन्द्रित गरेका थिए ।
प्रतिक्रिया दिनुहोस