डा. डीआर उपाध्यायको ‘जवानीमा पहिलो पाइला...’ सार्वजनिक

सफल खबर संवाददाता

आइतबार, ०३ चैत्र २०७५, १७ : २४
डा. डीआर उपाध्यायको ‘जवानीमा पहिलो पाइला...’ सार्वजनिक

काठमाडौं । डा. डीआर उपाध्यायको नयाँ गीत ‘जवानीमा पहिलो पाइला...’ सार्वजनिक भएको छ । शशि रावलको स्वर, सागर अधिकारी ‘शरद’को सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
डीआरको ‘सहेली’ एल्बममा रहेको यो गीतको भिडियोलाई सुवाष प्रधानले निर्देशन गरेका हुन् । प्रेम लामाको छायाँकन, टेकेन्द्र शाहको सम्पादन रहेको गीतको भिडियोमा मनिषा सापकोटा र प्रकाश विकलाई फिचर्ड गरिएको छ ।
डीआर म्युजिक एण्ड ट्रेडिङबाट सार्वजनिक गरिएको गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ ।
साहित्यकार तथा गीतकार डा. डी.आर. उपाध्यायले केही समय अघि नेपाली एल्बम प्रकाशनमा एकैपटक सबैभन्दा धेरै एल्बम निकालेर नयाँ रेकर्ड राखेका थिए । राष्ट्रकवि माधवप्रसाद घिमिरेको हातबाट एकैपटक सात एल्बम विमोचन गरिएको थियो । यो विषयलाई सम्बोधन गर्दै उनलाई ‘एभरेष्ट वल्र्ड रेकर्ड’को प्रमाण पत्र पनि प्रदान गरिएको छ ।
डीआरका एक उपन्यास ‘दगाबाज’सहित एल्बम ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’ र ‘सहेली’ विमोचन केही समय अघि राष्ट्रिय नाचघर जमलमा गरिएको थियो ।
एल्बममा समावेस भएका ४० भन्दा बढी गीतमा सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद’ र बुलु मुकारुङको सङ्गीत रहेको छ भने देशका प्रायः ख्यातीप्राप्त सबै गायक गायिकाहरुको स्वर रहेको छ ।
उपाध्यायका यसअघि ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘वज्राधात’, ‘अपवित्र छायाँ’ र ‘बिटुली’ जस्ता उपन्यास पाठकमाझ आइसकेका छन् ।
पद्मदीप स्मृति प्रतिष्ठानको आयोजनामा डी.आर.का गीति एल्बमका बारेमा देशका सात प्रदेशस्तरमा पनि लोकार्पण र समीक्षा तथा जिल्लास्तरको साहित्य अनि सङ्गीतका बारेमा छलफल गर्न अभियान चलाइएको थियो भने देश बाहिर सिक्किममा समेत लोकार्पण गरिएको थियो ।
 

 

प्रतिक्रिया दिनुहोस