बलिउडका ‘शहंशाह’ अमिताभ बच्चनबारे त्यहाँ अनगिन्ती किस्सा छन्। बलिउडमा सुरुमा ‘रिजेक्ट’ भएदेखि राजनीतिक विफलतासम्म, फिल्म ‘कुली’ को सुटिङका क्रममा दुर्घटनामा पर्दादेखि उनको कम्पनी ‘अमिताभ बच्चन कर्पोरेसन लिमिटेड’को असफलतासम्म। जीवनमा धेरै उतारचढाव देखेका र भोगेका ७६ वर्षीय अमिताभ अहिले पनि अभिनयमा सक्रिय छन्। चार दशकभन्दा बढी समय बलिउडमा बिताएका उनका त्यहाँ थुप्रै साथी र हितैषी छन्। अभिनय यात्रामा उनले मन नपराएका पनि त्यति नै छन्। बलिउडकर्मी तिनलाई अमिताभका ‘शत्रु’ भन्छन्।
शत्रुघ्न सिन्हा
सन् १९८० को दशकमा अमिताभ र शत्रुघ्न सिन्हा टप अभिनेतामा पर्थे। दुवैले फिल्म ‘काला पत्थर’, ‘दोस्ताना’, ‘शान’ लगायत सुपरहिट फिल्ममा काम गरेका थिए। पर्दामा यो जोडी जति प्रसिद्ध थियो, पर्दापछाडि उनीहरूको दुश्मनीका चर्चा पनि त्यति नै प्रख्यात थियो। एक अन्तर्वार्तामा शत्रुघ्नले भनेका थिए, ‘त्यतिखेर जोश थियो, जवानी थियो, अहम् थियो, त्यसैले केही ‘इस्यू’ थिए।’ दुवै अभिनेता वर्षौंसम्म एकअर्काबाट टाढा रहे। सन् २०१४ मा भने उनीहरूबीच पुनर्मिलन भएको थियो।
विनोद खन्ना
सन् १९७०–८० को दशकताका अमिताभले अभिनेता विनोद खन्नासँग पनि काम गरेका थिए। अमिताभको भाइ, साथीलगायत भूमिकामा विनोद फिल्ममा देखिने गर्थे। फिल्म ‘अमर, अकबर, एन्थोनी’, ‘परवरिश’, ‘मुकद्दर का सिकन्दर’, ‘हेराफेरी’ आदि फिल्ममा उनीहरूले स्क्रिन सेयर गरेका थिए। पर्दामा यस जोडीलाई दर्शकले खूब रुचाए। तर, वास्तविक जीवनमा उनीहरूलाई एकअर्काको प्रतिद्वन्द्वी मानिन्थ्यो।
राजेश खन्ना
अभिनेता राजेश खन्नालाई हिन्दी सिनेमाको पहिलो सुपरस्टार मानिन्छ। एकताका उनी अमिताभभन्दा ठूला स्टार थिए। तर, पछि उनको स्टारडम फिका हुँदै गयो। बलिउडकर्मीका अनुसार त्यसको मुख्य कारण अमिताभ थिए। उनको स्टारडमकै कारण राजेशको स्टारडम फिका भएको थियो। अमिताभको बढ्दो ख्यातिले राजेश आफूलाई असुरक्षित महसुस गर्थे। फिल्म ‘आनन्द’, ‘नमकहराम’ मा उनीहरू सँगै पर्दामा देखिएका थिए।
रणधीर कपुर
अमिताभ र अभिनेता रणधीर कपुरले फिल्म ‘कसमे–वादे’, ‘पुकार’ मा सँगै काम गरेका थिए। पहिला कपुर खानदानसँग अमिताभका सम्बन्ध समधुर थिए। रणधीरकी छोरी अभिनेत्री करिश्मा कपुर र अमिताभका छोरा अभिनेता अभिषेक बच्चनको बिहे हुने पक्का भएको थियो। औँठी साटासाटसमेत भइसकेको थियो। तर, पछि करिश्माले अभिषेकसँग ब्रेकअप गरेर व्यवसायी सञ्जय कपुरसँग बिहे गरेकी थिइन्। यसै कारणले रणधीर र अमिताभबीच वैमनस्य सुरु भएको थियो।
शाहरुख खान
अमिताभ र अभिनेता शाहरुख खान ‘कभी खुशी कभी गम’, ‘मोहब्बतें’ लगायत फिल्ममा सँगै देखिएका थिए। यी दुई बीचको मनमुटावले पनि बलिउडमा खूब चर्चा पाएको थियो। अमिताभले क्विज सो ‘कौन बनेगा करोडपति’ बाट टेलिभिजनको संसारमा प्रवेश गरेका थिए। उनले त्यस सोका दुई संस्करण सञ्चालन गरेका थिए। तेस्रो संस्करणमा शाहरुख खान देखिएका थिए। शाहरुखले सोमा खासै राम्रो गर्न सकेनन्। दर्शक घट्न थालेपछि सोमा फेरि अमिताभलाई ल्याइएको थियो। यही कारण पनि उनीहरूबीच फाटो आएको थियो।
प्रतिक्रिया दिनुहोस