अभिनेता आमिर खानलाई ‘मिस्टर पर्फेक्सनिस्ट’ भनिन्छ। बलिउडमा उनको छुट्टै पहिचान छ। दमदार अभिनेता मानिने आमिरका केही किस्सा प्रसिद्ध छन्।
किन जाँदैनन् अवार्ड सोमा
बलिउडमा थुप्रै अवार्ड सो हुन्छन्। तर, आमिरले राष्ट्रिय पुरस्कारबाहेक अरू अवार्ड थापेका छैनन्। अवार्ड सोमा नआउँदा कतिपय बलिउडकर्मीले उनलाई ‘घमण्डी’ पनि भन्ने गरेका छन्। धेरैलाई जिज्ञासा छ– ‘आमिर किन आउँदैनन् अवार्ड सोमा ?’
कुरा सन् १९९२ को हो। त्यसै वर्षदेखि आमिर अवार्ड सोबाट टाढिएका हुन्। त्यस वर्ष बलिउडमा तीन ठूला फिल्म रिलिज भएका थिए। अनिल कपुर अभिनीत ‘बेटा’, अमिताभ बच्चन अभिनीत ‘शहंशाह’ र आमिर खानको ‘जो जीता वही सिकन्दर’। तीनै फिल्मले एकअर्कालाई चुनौती दिइरहेका थिए। दर्शकले तीनै फिल्म मन पराएका थिए। आफूले अवार्ड पाउने अपेक्षा आमिरको थियो।
तर, फिल्म फेयरले अनिल कपुरलाई उत्कृष्ट अभिनेताको अवार्ड दियो। त्यसपछिका दुई वर्ष पनि आमिरका फिल्मले अवार्ड पाएनन्। आमिरका ‘हम है राही प्यार के’, ‘रंगीला’ फिल्म खूब चले। तर, तिनले अवार्ड पाएनन्। बरु, ‘बाजीगर’ र ‘दिलवाले दुल्हनियाँ ले जाएंगे’का लागि शाहरुख खानलाई अवार्ड दिइयो। त्यसपछि आमिर अवार्ड समारोहमा जान छोडे। सन् १९९६ मा फिल्म ‘राजा हिन्दुस्तानी’ का लागि उनलाई उत्कृष्ट अभिनेताको अवार्ड दिइएको थियो। तर, उनी गएनन्।
सात वर्षसम्म रिसाइन् जुही
अभिनेत्री जुही चावला र आमिर खानको जोडी एकताका हिट थियो। उनीहरूले ‘कयामत से कयामत तक’, ‘लभ लभ लभ’, ‘दौलत की जंग’, ‘इश्क’ लगायत फिल्ममा काम गरेका छन्। थुप्रै हिट फिल्म दिएको यो जोडी सात वर्षसम्म टाढिएको थियो। सात वर्षसम्म उनीहरूको बोलचाल भएन। आमिरको ठट्टा गर्ने बानीले उनीहरूबीच फाटो ल्याएको हो। सन् १९९७ मा फिल्म ‘इश्क’को सुटिङका क्रममा आफूहरूबीच झगडा भएको आमिरले भारतीय मिडियासँग एक अन्तरवार्तामा बताएका थिए।
‘एउटा सानो कुरामा जुही र मेरो झगडा भएको थियो,’ उनले भनेका थिए, ‘झगडा यति बढ्यो कि हामी एकअर्कासँग बोल्नै छोड्यौँ। फिल्म ‘इश्क’को सुटिङमा म उनीबाट ५० फिट टाढा बस्थेँ। कुरा गर्न त परै जाओस्, हेलो–हाईसमेत हुँदैनथ्यो।’ जुही र आमिर सात वर्षसम्म बोलेनन्। तर, सन् २००३ मा उनीहरूको सम्बन्ध सुध्रियो। ‘मेरो र रीनाको सम्बन्ध विच्छेद हुने थाहा पाएपछि जुहीले आफैँ फोन गरिन्,’ आमिरले अन्तरवार्तामा भनेका थिए, ‘उनले मलाई वैवाहिक जीवन नटुंग्याउने सल्लाह दिइन्। भेट्न पनि आइन्। अप्ठ्यारो पर्दा उनले साथ दिइन्। उनी मेरी सच्चा शुभचिन्तक हुन्।’
बिहेखर्च १० रुपैयाँ
प्रायः बलिउड सेलिब्रिटी धुमधामसँग बिहे गर्छन्। बिहेमा करौडौँ रुपैयाँ खर्च गर्छन्। तर, आमिरले आफ्नो पहिलो बिहेमा १० भारुभन्दा पनि कम खर्च भएको एक अन्तरवार्तामा बताएका थिए। आमिरले सन् १९८६ मा रीना दत्तासँग गुपचुप बिहे गरेका थिए। ‘मेरो पहिलो बिहेमा एकदमै कम खर्च भएको थियो,’ उनले भनेका थिए, ‘घरबाट बान्द्रा स्टेसन जान बस चढेँ।
५० पैसा गाडी भाडा तिरेँ। बसबाट झरेर पैदल हिँडेर हाइवे पार गरेपछि बिहे दर्ता गर्ने संस्था आउँथ्यो। तीन जना साक्षी राखेर हामीले बिहे ग¥यौँ। मेरो बिहेमा १० रुपैयाँ पनि खर्च भएन।’ सन् १९८६ मा २१ वर्षीय आमिर र १९ वर्षकी रीनाको बिहे भएको थियो। उनीहरूले आफ्नो बिहेबारे परिवारलाई थाहा दिएनन्। घरका मान्छेले पछि मात्र थाहा पाए। सन् २००२ मा आमिर र रीनाले १७ वर्षको दात्पत्य जीवन टुंग्याए।
माधुरीका हातमा थुक्दा
सुटिङका क्रममा आमिर सहकर्मीहरूसँग ख्यालठट्टा गरिरहन्छन्। अभिनेत्री माधुरी दीक्षित पनि उनको मजाकको शिकार भएकी थिइन्। फिल्म ‘दिल’को ‘खम्बे जैसी खडी है’ गीतको सुटिङ भइरहँदा आमिरले माधुरीसँग ठट्टा गर्ने जुक्ति निकाले। उनले आफूलाई हात हेर्न आउने बताएका थिए। उनको कुरा सुनेर उत्साहित हुँदै माधुरीले हात अघि बढाइन् र आफ्नो भविष्य बताउन आग्रह गरिन्। आमिरले पहिला माधुरीको हात राम्ररी हेरे। त्यसपछि उनको हातमा थुकिदिए। एक भारतीय मिडियामा यो किस्सा सुनाउँदै माधुरीले भनेकी थिइन्, ‘आमिरले हातमा थुकेपछि हकी स्टिक बोकेर मैले उनलाई लखेटेकी थिएँ।’
श्रीदेवीसामु ‘नर्भस’
आमिर बलिउडकी ‘चाँदनी’ अर्थात् श्रीदेवीका ठूला प्रशंसक हुन्। गत वर्ष श्रीदेवीको निधन हुँदा सँगै काम गर्ने निर्देशक, निर्माता, कलाकारलगायत सबैले उनलाई सम्झिएका थिए। श्रीदेवीलाई सम्झिँदै आमिरले एक अंगे्रजी पत्रिकासँग कुराकानी गरेका थिए। ‘एक पटक मलाई श्रीदेवीसँग एउटा म्यागजिनका लागि फोटोसुट गर्नु थियो,’ उनले भनेका थिए, ‘म श्रीदेवीको ठूलो फ्यान हुँ। उनको नाम सुन्नेबित्तिकै म आत्तिएको थिएँ। उनका सामु कसरी उभिने होला भनेर डराएँ।’ आफूले श्रीदेवीलाई असाध्यै माया र सम्मान गर्ने गरेको उनले अन्तरवार्तामा बताएका थिए। ‘म उनलाई असाध्यै माया गर्थें,’ आमिरले भनेका थिए, ‘मेरो मनमा आफूप्रति भएको अथाह प्रेमबारे उनले थाहा पाइन् भने के होला भनेर एकदमै नर्भस भएको थिएँ।’ सम्पूर्णबाट
प्रतिक्रिया दिनुहोस