काठमाडौं । गत हप्ता चलचित्र ‘क्याप्टेन’ को सेलिब्रेटी शोमा नायक अनमोल केसीले सुपरहिट फिल्म ‘मेरो एउटा साथी छ’ को सिक्वेलमा अभिनेत्री नम्रता श्रेष्ठ भए आँखा चिम्लिएर काम गर्न तयार रहेको बताएका थिए । प्रि–प्रोडक्सनमा रहेको फिल्म खेल्न ‘ग्रिन सिग्नल’ देखाएलगत्तै उनलाई निर्माण टिमबाट ‘मेरो एउटा साथी छ २’ का लागि अफर गरिएको खबर बाहिरिएको थियो ।
तर, निर्देशक दिनेश राउतले यो कुराको खण्डन गरेका छन् । उनले बुधबार साँझ आफ्नो आधिकारिक फेसबुकमा स्टाटस राख्दै अहिलेसम्म फिल्मका लागि कुनै कलाकारलाई अफर र फाइनल नगरिएको स्पष्ट पारेका छन् । अहिले निर्माणको सुरुवाती चरणमा रहेको जानकारी दिँदै उनले हाल स्क्रिप्टमा काम भइरहेको बताए ।
उनले फिल्मका लागि आफू र निर्माताबाट अनमोललाई फिल्म अफर नै नगरेको दाबी गरे । ‘अब हामीले नै फिल्म अफर गरेका छैनौं भने अरुले कसले र्गयो त्यो थाहा भएन । टिमभित्र अनमोललाई लिने कुरा समेत भएको छैन । र, एउटा कुरा के स्पष्ट पार्न चाहन्छु भने फिल्ममा कुनै हालतमा अनमोल हुने छैनन’, दिनेशले भने ।
यो फिल्मको पहिलो पार्टमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठ प्रमुख भूमिकामा थिए । फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका थिए । निर्देशक थापालाई ‘प्रसाद’ निर्देशक राउतले रिप्लेस गरेका छन् भने आर्यन र नम्रता दुबै दोहोरिने सम्भावना न्यून छ । खबरअनुसार, ‘इन्टु मिन्टु लण्डनमा’ फेम्ड अभिनेता धिरज मगर फिल्ममा हुने प्रवल सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस