काठमाडौ । महानायक राजेश हमाल आफै फिल्म निर्माण र निर्देशनमा होमिने तयारीमा छन् । निकै आश गरिएका दुई फिल्म ‘बागमती’ र ‘सकुन्तला’ को असफलतापछि उनले करिब २ वर्षदेखि कुनैपनि चलचित्रमा काम गरेका थिएनन् ।
तर महानायक हमाल यतिबेला ‘प्रेमगीत ३’ मा अनुबन्ध भएको खबर बाहिरिएको छ । सन्तोष सेनले निर्माण गर्ने फिल्म ‘प्रेमगीत’ को तेस्रो सिरिजमा हमाल पिताको भूमिकामा फाइनल भएको गोप्य स्रोतले फिल्मीखबरलाई जानकारी दिएको छ ।
फिल्ममा उनी अभिनेता प्रदीप खड्काको पिताको भूमिकामा देखिनेछन् । यसअघि पनि उनले थुप्रै फिल्ममा पिता र दाईको भूमिका निभाइसकेका छन् । स्रोतका अनुसार, पिताको भूमिका भए पनि रोल पावरफुल भएका कारण राजेश हमालले फिल्म साइन गरेका हुन् । हमाल फिल्ममा अनुबन्ध भएको कुरा भने निर्माता सेनले बताउन चाहेनन् । उनले छलफलकै क्रममा रहेको बताए । उनले भने, ‘फाइनल चाहिँ भइसक्नु भएको छैन । अहिले हामी स्क्रिप्टमा बसिरहेका छौं ।’
तर, केही दिन अगाडि मात्र अभिनेता हमाल र निर्माता सेनबीच कागजी सम्झौता भइसकेको स्रोत बताउँछ । ’प्रेमगीत’ को पहिलो पार्टलाई निर्देशक सुदर्शन थापाले निर्देशन गरेका थिए भने दोस्रो पार्टका निर्देशक रामशरण पाठक हुन् । अब तेस्रो पार्टलाई ’डमरुको डण्डीवियो’ फेम्ड निर्देशक छेतन गुरुङले निर्देशन गर्दैछन् । फिल्मको दशैंको आसपासबाट छायांकन सुरु हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस