एजेन्सी । हालै रिलिज भएको फिल्म ‘गली ब्वाय’बाट आलियाले खुब तारिफ बटुलिन् । फिल्मले बक्स अफिसमा पनि गज्जबको कमाइ गरिरहेको छ । यसैबीच खबर आएको छ कि आलिया भट्ट आफ्नो बाबुको निर्देशनमा बन्ने फिल्म ‘सडक २’मा काम गर्दै छिन् । तर, आलियाले आफ्नो बाबुको फिल्ममा काम गर्न डर लागिरहेको बताएकी छिन् ।
डेक्कन क्रनिकललाई दिएको अन्तर्वार्तामा आलियाले भनेकी छिन्, ‘अहिले म बाबुको निर्देशनमा काम गर्न डराइरहेकी छु, उनले लगातार मेरो काम देखिरहेका छन्, तर मैले त्योभन्दा पनि धेरै गर्नु छ, उनको साथमा एक्स–रे भिजनजस्तो दृष्टि छ ।’
आलियाले ‘कलंक’को सुटिङ सकाएपछि यसै वर्ष ‘सडक २’को सुटिङ पनि गर्दै छिन् । आफूले एक ढंगको तह बनाएको र त्यसलाई पिताले चिर्न खोजिरहेको बताएकी छिन् । पछिल्लो केही समयदेखि महेशको फिल्म ‘सडक’लाई लिएर बलिउडमा चर्चा छ । फिल्ममा सञ्जय दत्त, पूजा भट्ट र आलिया भट्ट देखिँदै छन् । ‘सडक २’ आउने वर्ष १५ नोभेम्बरमा रिलिज हुनेछ । महेश भट्टको निर्देशनमा बनेको फिल्म ‘सडक’ भने आजभन्दा २७ वर्ष पहिले रिलिज भएको थियो ।
प्रतिक्रिया दिनुहोस