डा. योगी विकासानन्द
मान्छे जे खान्छ, उसको त्यस्तै चेतना बन्छ। दुर्याेधनको अन्न खाँदा भीष्म जस्ता सामथ्र्यवान् पुरुषको त चेतना भ्रष्ट हुन्छ भने आम मानिसको के होला ? आफूलाई मानसिक रूपमा सबल बनाउनु छ भने भोजनमा ध्यान दिनुपर्छ।
सम्पूर्ण जीवजन्तुका लागि भोजन सर्वाधिक महत्त्वपूर्ण विषय हो। ‘पापी पेटका लागि दुःख’ भन्ने भनाइ नेपाली समाजमा प्रचलित छ। अर्थात्, हाम्रा सम्पूर्ण कर्म र दौडधूप मुख्यतः भोजनकै लागि हुने गर्छन्।
खाना नखाई बाँच्न सकिन्न भन्ने हामी सबैलाई थाहा छ। भोजनले नै हाम्रो शारीरिक विकास हुन्छ भन्ने विषयमा हामी जानकार छौँ। विशेष श्रमजन्य काम, मौसम र वातावरणमा खास–खास भोजन खाने परम्परा नेपाली समाजमा व्याप्त छ। यसले के बुझाउँछ भने शारीरिक सबलता वा दुर्बलतालाई ख्याल राख्दै भोजन गर्नुपर्छ भन्ने सन्दर्भ हाम्रा लागि नौलो होइन।
भोजनले हाम्रो शारीरिक विकासमा प्रभाव पार्छ भन्ने विषयमा हामी सचेत र जानकार छौँ। तर, भोजनले मानसिक वृत्तिविकासमा पनि शारीरिक विकासजत्तिकै प्रभाव पार्छ भन्ने विषय हाम्रा लागि खासै चासोको सन्दर्भ बन्न सकेको छैन।
एउटा बच्चाले राम्ररी पढ्न नसक्नु, जति कोसिस गर्दा पनि एकाग्र हुन नसक्नु, मानिस झगडालु भइरहनु, हरदम तनावमा बस्नु, देशले महान् बौद्धिक नेतृत्व प्राप्त नगर्नुलगायत विषय पनि भोजनका कारणले हुन्छ भन्ने विषयमा आधारित भएर हाम्रो समाजमा बहस र छलफल हुन सकेको छैन।
मानिसको चेतनाको केन्द्र मस्तिष्क हो। मस्तिष्कको निर्माण भोजनबाटै हुन्छ। मस्तिष्क मात्र होइन, हाम्रो शरिरको त्यान्द्रो–त्यान्द्रो भोजनबाट नै बन्छ। भोजन गलत भयो भने मस्तिष्क कमजोर बन्दै जान्छ।
निष्पाप भीष्म
महाभारत युद्धमा पाण्डवको जीत भइसकेको थियो। भीष्म पितामह मृत्युशय्यामा थिए। इच्छामरणको सामथ्र्य भएका भीष्मले अन्तिम समयमा दौप्रदीसहित पाँच पाण्डवलाई उपदेश दिन थाले।
भीष्मको उपदेशलाई द्रौपदीले असान्दर्भिक ठहर गर्छिन्। द्रौपदीको विचारमा न्याय, कर्तव्य वा धर्मको विषयमा उपदेश दिने नैतिकता अब भीष्मसँग बाँकी छैन। उनी भन्छिन्, ‘पितामह, आज तपाईं हामीलाई जे–जे कुरा सिकाइरहनुभएको छ, यति महत्त्वपूर्ण ज्ञान भारी सभामा दुर्याेधनले मेरो सारी तान्दा कहाँ गएको थियो ? अनि, पाण्डवहरू अन्यायमा परेका छन् भन्ने जान्दाजान्दै कौरवको सेनापति बन्न त्यो ज्ञानले किन रोकेन ?’
द्रौपदीको तीखो वचन सुनेपछि भीष्म पितामहले ‘उक्त समयमा आफूले दुर्याेधनको अन्न खाएको र उक्त अन्नको प्रभावले बुद्धि भ्रष्ट भएको’ बताउँछन्। उनी द्रौपदीलाई सम्झाउँदै भन्छन्, ‘अर्जुनको वाणले उक्त कुअन्नबाट निर्मित रगत बगिसकेको छ। अहिले म निष्पाप भइसकेको छु। तसर्थ तिमीले मेरा कुरा सुन्नैपर्छ।’ भीष्मको तर्कप्रति द्रौपदी सहमत बन्छिन्। अनि, भीष्मले दिएको अन्तिम उपदेशअनुसार द्रौपदी र पाण्डव जीवन अगाडि बढाउँछन्।
यो कथा सामान्य देखिन्छ। पुराणका अनगिन्ती कथा सुन्दै आएका हामीलाई यो पनि अर्काे एउटा कथा मात्रै लाग्छ। तर, यो कथा अत्यन्त विशिष्ट छ। मान्छे जे खान्छ, उसको त्यस्तै चेतना बन्छ। दुर्याेधनको अन्न खाँदा भीष्म जस्ता सामथ्र्यवान् पुरुषको त चेतना भ्रष्ट हुन्छ भने आम मानिसको के होला ? आफूलाई मानसिक रूपमा सबल बनाउनु छ भने भोजनमा ध्यान दिनुपर्छ। यो कथाले दिन खोजेको सन्देश यही हो।
नयाँ नेपाल र भोजन
अहिले हामी नयाँ नेपाल बनाउनुपर्छ भनिरहेका छौँ। नयाँ नेपाल बनाउन पहिला नेपालीहरू नयाँ बन्नुपर्यो। नेपालीहरू नयाँ बन्नका लागि उनीहरूको मस्तिष्क नयाँ हुनुपर्यो र नयाँ मस्तिष्कका लागि भोजनमा नवीनता भित्त्याउनुपर्यो। यो कुरा झट्ट सुन्दा कहाँको राजा भोज, कहाँको गंगु तेली जस्तो लाग्न सक्छ। कहाँ नयाँ नेपाली बनाउने महान् अभियान, कहाँको सामान्य स्वास्थ्य सम्बद्ध भोजन सुधारको विषय !
हामीले के बुझ्नुपर्यो भने पुरानो मस्तिष्कमा पुरानै विचार आउँछ। कमजोर मस्तिष्कले कमजोर विचार नै उत्पादन गर्छ भने विकृत मस्तिष्कमा विकृत विचार नै हुन्छन्। हामीसँग पुरानो मस्तिष्क रहुञ्जेल नयाँ नेपाल बनाउन सक्दैनौँ। नयाँ मस्तिष्कका लागि सबैभन्दा पहिला भोजनबाट नै सुधार गर्नुपर्छ। पुरानो खानपान पद्धतिले नयाँ विचार जन्मन दिँदैन। पुरानै विचारको पुनरावृत्ति मात्र गराउँछ। नयाँ सोच, संकल्प र दृष्टिकोण नभई नयाँ नेपाल नबन्ने स्पष्ट छ।
नेपाली किन पछाडि ?
इतिहासले शाह शासनकालपछिको नेपाललाई आधुनिक नेपालको रूपमा परिभाषित गरेको छ। आधुनिक नेपालको करिब अढाई सय वर्ष बितिसक्दा पनि नेपालले किन विश्वचर्चित वैज्ञानिक जन्माउन सकेन ? किन एक जना नेपालीले आजसम्म नोबेल पुरस्कार पाउन सकेन ?
के भूपरिवेष्ठित सानो गरिब राष्ट्र भएकै कारण नेपालले विश्वविख्यात मनोवेत्ता जन्माउन नसकेको हो ? के संसारमा विश्वविख्यात भएका सम्पूर्ण व्यक्ति सम्पन्न र शक्तिशाली मुलुककै नागरिक हुन् त ? के आर्थिक सामथ्र्यकै कारणले मानिसको मानसिक सामथ्र्य (प्रतिभा) ले विश्वचर्चित बन्ने अवसर प्राप्त गर्छ ?
यी प्रश्नमा एक पटक गम खाने हो भने हामी थप अन्योलमा पर्छाैं। किनकि, संसार चर्चित बनेका थुप्रै महान् व्यक्तित्वहरू हाम्रोभन्दा पनि गएगुज्रेको देश र समाजबाट उठेर महान् बनेका छन्। हामी नेपालीबाट कोही पनि विश्वविख्यात नबन्नुको पछाडि धेरै कारण हुन सक्लान्। तीमध्ये एक प्रमुख कारण हाम्रो भोजन पनि हो। हाम्रो कमजोर बुद्धि निर्माणको पछाडि हाम्रो भोजनशैली जिम्मेवार छ।
सभ्यता विकास र भोजन
हामी मान्छे (होमो सेपिएन्स) भएको दुई लाख वर्ष भयो। मानव सभ्यताको विकास करिब १० हजार वर्षदेखि भएको हो। यो दुई लाख वर्षमध्ये १ लाख ९० हजार वर्ष त मानिसको खासै विकास भएको पाइँदैन।
सुरुवाती सभ्यता विस्तार नदी किनारको छेउबाट भएको पाइन्छ। सुमेरियन, सिन्धुघाटी, बेबिलोनलगायत प्राचीन सभ्यता नदी किनारमै विकसित भएका हुन्। पानीको आवश्यकता पूर्तिका लागि मानिसहरू नदी किनारको छेउमा गएर बसे भन्ने मान्यता छ। यो स्वाभाविक पनि हो।
तर, नदी किनारमा सभ्यता विकासको पछाडि पानीको सहज उपलब्धता मात्र कारण होइन। सभ्यता विकास गर्नका लागि मानिसलाई जुन बुद्धि वा शक्तिशाली मस्तिष्क चाहिन्थ्यो, त्यसको आधार पनि नदीले प्रदान गर्यो।
नदीबाट प्राप्त हुने माछा मानिसको भोजनमा जोडिएपछि उसको मस्तिष्क शक्तिशाली बन्न थाल्यो। माछामा पाइने ‘ओमेगा थ्री’ तेल मस्तिष्कमैत्री तेल हो।
जसले मस्तिष्कको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। वैज्ञानिकहरूका अनुसार माछाको भोजनले नै मानिस सभ्यता विकास गर्न सक्षम भएको हो। माछाको तेल, जैतुनको तेल, आलसको तेल, ओखर, काजु, पेस्ता र बदाममा ‘ओमेगा थ्री’ पाइन्छ। हामीहरू जैतुनको तेल धेरै महँगो भएकाले खाँदैनौँ भने आलस धेरै सस्तो भएकाले।
आवश्यक खुराक पुगेन भने मस्तिष्कले सोच्न सक्दैन। शक्तिशाली मस्तिष्कले प्रश्न गर्ने सामथ्र्य राख्छ। कमजोर मस्तिष्कले विरोध गर्छ वा स्वीकार गर्छ। हामी नेपाली कि विरोध गर्छाैं, कि स्विकार्छाैं। पूर्ण स्वीकारोक्ति वा विरोधले खोजको अन्त्य गर्छ। खोजकै अन्त्य भएपछि विकास र प्रगति हुँदैन। प्रगतिका लागि मस्तिष्कले प्रश्न गर्नुपर्छ।
तेल फेरौँ
नेपालको समृद्धिका लागि आवश्यक सक्षम जनशक्ति उत्पादन गर्ने हो भने पहिलो कार्यका रूपमा खाने तेललाई नै परिवर्तन गरौँ। जैतुनको तेल आम मानिसका लागि महँगो हुन्छ भने आलसको तेल प्रयोगलाई राज्यले उत्प्रेरणा दिनुपर्छ।
मासु होइन, माछा
नेपालको पहाडी भेगमा माछा खाने प्रचलन अति नै कम छ। खास गरी खसीको मासु खानुलाई गर्वका रूपमा लिइन्छ। तर, खसी, राँगा, सुंगुर, बंगुरलगायत चार खुट्टेको मासु स्वास्थ्यका लागि फाइदाजनक मानिँदैन। मांसाहारीले माछा खानु राम्रो हुन्छ। किनकि, यसमा मस्तिष्कमैत्री ‘ओमेगा थ्री’ तेल पाइन्छ। माछा खानुपर्छ भन्ने सन्देशलाई गाउँ–गाउँसम्म पुर्याउनुपर्छ। शाकाहारी भोजन गर्नेले दूध र दही नियमित खान सकिन्छ।
हर दिन जौ खाऔँ
मकै खाने मानिस शारीरिक रूपमा बलियो हुन्छ, तर मानसिक रूपमा कमजोर। मकैमा शरीरलाई शक्तिशाली बनाउने उच्च कार्बाेहाइड्रेट पाइन्छ। चामलमा भने भिटामिन बी वान र टू समेत पाइन्छ। जसले एकाग्र हुन र सोच्नका लागि सहयोग गर्छ। मकै खानेभन्दा चामल खाने मानिस चलाख हुनु भिटामिन बी वान र टूकै कारणले पनि हो।
गहुँमा भिटामिन ई हुन्छ। जुन टेस्टोस्टेरोन हार्माेनको पूर्वाधार हो। टेस्टोस्टेरोन हार्माेन सिर्जनात्मक हार्मोन हो। मानिसलाई सिर्जनशील बनाउन यसकोे ठूलो भूमिका हुन्छ। यसरी हेर्दा मकै खानेभन्दा चामल र चामल खानेभन्दा गहुँ खाने मानिसको मस्तिष्क शक्तिशाली हुन्छ। अझ गहुँ खानेभन्दा पनि जौ खाने बढी शक्तिशाली हुन्छन्।
युरोपेलीहरूको खानामा जौ समावेश हुन्छ। जौ खाने उनीहरू आज विकासका मामिलामा कहाँ छन्, व्याख्या गरिरहनुपर्दैन। हामीले जौलाई मन्दिरमा वा भगवान्लाई चढाउने पूजा सामग्री मात्र बनायौँ। अब यसलाई दैनिक भोजन बनाउनुपर्छ। यो विषयलाई राष्ट्रिय अभियानकै रूपमा लैजानुपर्छ।
फलफूल र हरियो सलाद
तन र मनका लागि आवश्यक पर्ने भिटामिन र खनिज हरियो सलाद र फलफूलबाट पूर्ति हुन्छ। हामीले नियमित फलफूल खाने परिपाटीलाई संस्कृतिकै रूपमा अवलम्बन गर्नुपर्छ भने खानामा हरियो सलादलाई अनिवार्य बनाउनुपर्छ। सम्पूर्ण बाट
प्रतिक्रिया दिनुहोस