नाम छायाँ, काम दायाँबायाँ, गुठीको जग्गा खर्लप्पै खायाँ

सफल खबर संवाददाता

बुधबार, ०८ फागुन २०७५, १६ : ४३
नाम छायाँ, काम दायाँबायाँ, गुठीको जग्गा खर्लप्पै खायाँ

कठमाडौँ । पर्यटकीय क्षेत्र ठमेलमा दुई महिनाअघि संचालनमा आएको छायाँ सेन्टरलाई त्यसका संचालकहरुले मिनी ठमेलको नाम दिएका छन् । सबै सेवा र सुविधाको केन्द्र पनि भनेका छन् । त्यो उनीहरुको दाबी हुन सक्छ, तर ठमेलको सार्वजनिक जग्गा र हिटी समेत मिचेको आरोप पनि छायाँ सेन्टरमाथि लागेको छ ।

छायाँ सेन्टर बाहिरबाट जति राम्रो देखिन्छ, त्योभन्दा नराम्रो काम भित्रभित्रै भइरहेको पाइएको छ । छायाँ सेन्टरको लगानीकर्तामा नेपाली काँग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महत समेत रहेका छन् । उनले आफू शक्ति र प्रभावमा रहँदा कमाएको पैसा छोराको नाममा लगानी गरेका छन् । उनले अवैध तरिकाले कमाएको पैसालाई वैध बनाउने लक्ष्यका साथ उक्त व्यापारिक भवनमा लगानी गरेको चर्चा सानेपातिर हुने गरेको छ ।

छाँया सेन्टरमा सौरभ ज्योतिको कम्पनी स्याकार ट्रेडिङ कम्पनी र एम्बेस्डर होटल र क्लब हिमालयका मालिक एवम् पोखराको फेवाताल समेत अतिक्रमण गरेका कर्ण शाक्यका आफन्त योगेन्द्र शाक्यले पनि लगानी रहेको छ । उनीहरुले अवैध रुपमा जम्मा पारेको रकम छायाँ सेन्टरको नाममा लगानी गरेका हुन् । छायाँ सेन्टरको विषयमा संसदीय समितिले छानबिन गर्ने तयारी गरेको छ । सार्वजनिक पोखरी एवम् धारा समेत मिचिएको पाइएको भन्दै समितिले छानबिन गर्ने तयारी गरेको हो ।

प्राकृतिक स्रोतसँग जोडिएको विषय भएकाले छायाँ सेन्टरको छानबिन गर्ने दायित्व प्रतिनिधि सभाको ऊर्जा, जलस्रोत तथा प्राकृतिक स्रोत साधन समितिको हो । समितिमा स्थानीय केही नागरिक अगुवाले सो सेन्टरले सार्वजनिक जग्गा मिचेको भन्दै छानबनिका लागि आग्रह गरेका छन् । उनीहरुले प्रमाणसहित छानबिनको माग गरेका हुन् । उनीहरुले पैसा र शक्तिको प्रभावका आधारमा आफूहरुलाई पूर्व अर्थमन्त्री डा महत र केही नाफाखोर व्यापारीले ज्यादती  गरेको बताएका छन् ।

नेपाली काँग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महतले शक्तिको दुरुपयोग गरी विवादास्पद व्यापारीलाई फाइदा हुने गरी गराएको निर्णयका कारण यतिखेर नेपालको पर्यटकीय केन्द्र ठमेलमा चरम विवाद भएको छ । डा. महतले आफ्ना छोरालाई समेत त्यसको शेयर दिलाएका छन् । नाम र रुपमा छोराको शेयर भएपनि त्यसको खास हिस्सेदार भने उनै डा. महत हुन् । राजनीतिमा कहिलेकाहीँ नचलेको हावा र नहल्लेको पातले काम गर्छ भन्ने कुरा राम्रोसँग थाहा पाएका डा. महतले छोराको नाममा शेयर किनेर पानीमाथिको ओभानो बनेका छन् । नेपाली सेनाका पूर्वप्रमुख प्रज्ज्वल शमशेर जबराको ५० लाख र उनकी श्रीमती सिन्धु राणाको ५० लाख लगानी रहेको स्रोत बताउँछ ।

हाल छायाँ सेन्टर रहेको स्थानलाई स्थानीय नेवारहरुले कमलपोखरीको नाम दिएका थिए । यो क्षेत्रको विवाद उत्कर्षमा हुँदा अर्थमन्त्री रहेका डा. रामशरण महतको छोरा तथा पृथ्वीबहादुर पाण्डेका दाईका ज्वाईं अमेरिकी नागरिक रक्षक महतको नाममा ५० लाख र रामशरणकी बुहारी पारुल पाँडे महतको नाममा ८ लाख ५७ हजार २ सय बराबरको सुरुवाती सेयर लगानी गरेको पाइएको छ । यो लगानी २०७३ साउन २३ गतेसम्मको हो । त्यतिबेला डा. महत शक्ति र सत्ताको नजिकमा नै थिए । उनले छायाँ सेन्टरको शेयर आफ्ना छोराको नाममा राखेको स्थानीयले समितिलाई उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

छायाँ सेन्टरको बारेमा संसदीय समितिहरुमा समेत नेपाली काँग्रेसका सांसदहरुले सुरुमा नेकपाका नेता तथा कार्यकर्तालाई ठोक्ने मेसो मिल्यो भन्दै उत्साहित भएका थिए । तर पछि छायाँ सेन्टरमा डा. महतको लगानी रहेको थाहा पाएपछि उनीहरु चुप लागेको लेखा समितिका एक सदस्यले बताए । लेखा समितिमा समेत यो विषयमा छलफल गर्ने र संसदीय समितिले एक छानबिन समिति नै बनाउने तर्क पेश भएको थियो । तर डा. महत समेत सहभागी भएको र उनको समेत लगानी रहेको भन्ने विषय जानकारीमा आएपछि एकाएक नेपाली काँग्रेसका सांसदहरु पछाडि हटेका छन् ।

लेखा समितिको सभापतिमा नेपाली काँग्रेसका नेता भरतकुमार शाह रहेका छन् । यस्तै काँग्रेसका अन्य केही सदस्य समेत समितिका सदस्य छन् । तर डा. महत सहभागी भएको थाहा पाएपछि उनीहरु एकाएक छायाँ सेन्टरको छानबिन गर्ने निर्णयबाट पछाडि हटेको नेकपाका सांसदहरुको भनाइ छ । सुरुमा छानबिन गर्नुप¥यो भन्दै उफ्रने काँग्रेसका सांसदहरु एकाएक पछाडि हट्नुलाई नेकपाका सांसदहरुले भने आश्चर्यको रुपमा लिएका छन् ।

काठमाडौँ क्षेत्र नं १० का सांसद राजेन्द्र केसीले छायाँ सेन्टरको विषयमा छानबनि गर्नुप¥यो भन्दै संसद्को सार्वजनिक लेखा समितिमा कुरा राखेका थिए । तर सोही समितिमा रहेका काँग्रेस नेता बालकृष्ण खाँडले राजेन्द्रजी यसबारेमा थप छलफल गरौला भन्दै केसीको भनाइ नै रोकेका थिए । कारण थियो डा. महतको बाबु छोराको नाममा रहेको लगानी ।

पोखरी र हिटी समेत मिचिएको विषयमा संसद्को कृषि, प्राकृतिक स्रोत साधन समितिले समेत छानबिन गर्ने बताइए पनि त्यो त्यत्तिकै रोकिएको छ ।  कूल १५ रोपनी क्षेत्रफलमा फैलिएको छ भवन । त्यसमध्ये १२ रोपनी जग्गा कुनै बेला सिंह सार्थबाहु गुठीको नामको पोखरी रहेको थियो । मालपोत कार्यालयको रेकर्ड हेर्ने हो भने जग्गा अहिले पनि सार्वजनिक पोखरी कायम छ । तर पूर्वअर्थमन्त्री डा. महतले शक्तिको दुरुपयोग गरी सार्वजनिक जग्गा मिलाइदिएको जानकारहरुको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस