चौबीसौं जनयुद्ध दिवस विशेष

चौबीसौं जनयुद्ध दिवसको अवसरमा कसले के भने ?

सफल खबर संवाददाता

बुधबार, ०१ फागुन २०७५, १४ : १८
चौबीसौं जनयुद्ध दिवसको अवसरमा कसले के भने ?

चितवन । तत्कालीन नेकपा (माओवादी) ले २०५२ साल फागुन १ गतेदेखि सञ्चालन गरेको जनयुद्धको सम्झनामा चौबीसौं जनयुद्ध दिवस आज बुधबार देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

तत्कालीन नेकपा (माओवादी) को मूलधार नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीच पार्टी एकीकरण भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पहिलोपटक पार्टी केन्द्रीय कार्यालय धुम्बाराही र जिल्लास्थित पार्टी कार्यालयहरुमा जनयुद्ध तथा जनआन्दोलन दिवस एवम् शहीद सम्मान कार्यक्रम आयोजना गरेको छ ।

जनयुद्ध दिवसको अवसरमा तत्कालीन नेकपा (माओवादी) का चार जना नेताहरुले शुभकामना दिँदै आफ्नो भनाइ सार्वजनिक गरेका छन् । पढौं, कसले के भने ?

पुष्पकमल दाहाल प्रचण्ड
अध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

‘हामीले नितान्त नयाँ सन्दर्भमा इतिहासको स्मरण गर्ने, शहीदहरूलाई सम्झने र उनीहरूको सपना पूरा गर्ने संकल्प गर्ने दिन हो आजको दिन । शान्तिपूर्ण र प्रतिस्पर्धात्मक तरिकाले सामन्तवाद र वैदेशिक हस्तक्षेपको विरोध गर्ने मदन भण्डारीलाई सम्झन्छु, सम्मान गर्छु । उहाँको सम्मानमा जेठ ३ गते पार्टी एकताको घोषणा गर्यौं । आज फागुन १ गते जनयुद्ध र विद्रोह शुरू भएको दिन हो, यो दिनलाई शहीदहरूको स्मृति र सम्झनाका रूपमा मनाउने सामुहिक निर्णय भएको छ । यो ऐतिहासिक हो ।’

डा. बाबुराम भट्टराई
संयोजक, नयाँ शक्ति पार्टी नेपाल

‘नेपाली समाजको लोकतान्त्रिकरणको प्रक्रियामा अग्रणी भूमिका निर्वाह गर्ने जनयुद्ध दिवसको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना । संविधानसभाबाट संघीय गणतन्त्रको संविधान प्राप्त गर्न दश बर्षे जनयुद्ध र त्यसको जगमा भएको २०६२÷६३ को जनआन्दोलनको प्रमुख भूमिका थियो भन्ने नभुलौं ।’

मोहन वैद्य किरण
महासचिव, नेकपा (माओवादी क्रान्तिकारी)

‘नेपालमा सञ्चालित महान जनयुद्धले गम्भीर धक्का खाए पनि जनताका त्याग, वीरता र बलिदानका उत्कृष्ट मूल्यहरु खेर गएका छैनन् । तिनले भावी क्रान्तिका निम्ति अनन्त ऊर्जा प्रदान गरेका छन् । जनयुद्धका तत्कालीन नेतृत्वको एउटा हिस्साले संशोधनवादहुँदै पश्चगमनको बाटो समाते पनि सच्चा क्रान्तिकारी कम्युनिष्टहरुद्वारा क्रान्तिको प्रक्रियालाई निरन्तर जारी राखिएको छ ।’

नेत्रविक्रम चन्द विप्लव
महासचिव, नेपाल कम्युनिष्ट पार्टी

‘जनयुद्ध दिवसका अवसरमा महान शहीद, बेपत्ता, योद्धा परिवार, जनमुक्ति सेना, जनता, सच्चा लोकतन्त्रवादी, गणतन्त्रवादी, बुद्धिजीवी, राष्ट्रिय पुँजीपति वर्गलाई कहिल्यै नटुट्ने गरी हातेमालो गर्दै वैज्ञानिक समाजवाद र साम्यवादतर्फ अघि बढौं भन्न चाहन्छु ।’

 

प्रतिक्रिया दिनुहोस