आज श्रीपञ्चमी पर्व

आज श्रीपञ्चमी , सरस्वतीको पूजाअर्चना गरिँदै

सफल खबर संवाददाता

आइतबार, २७ माघ २०७५, ०८ : २०
आज श्रीपञ्चमी ,  सरस्वतीको पूजाअर्चना गरिँदै

काठमाडौं । आज श्रीपञ्चमी पर्व । सरस्वतीमन्दिर, विद्यालय,शैक्षिक प्रतिष्ठान तथा साधना केन्द्रमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजाआजा आराधना गरिंदैछ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी श्रीपञ्चमी मनाइन्छ । विद्यार्जन,गायन,भाषणकला,कलाकारिता संगीतलगायत क्षेत्रका साधकहरुले भक्तिभावले देवी सरस्वतीको निष्ठापूर्वक पूजा गरिरहेका छन् ।
आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्ने गर्छ। विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ।
श्रीपञ्चमीको दिनलाई शुभसाइतको दिन मानिने हुँदा यस दिन विवाह व्रतबन्धजस्ता शुभ कार्यका साइत जुराइरहनु नपर्ने विश्वास छ । यसै दिन ससाना शिशुहरुको नाककान पनि छेडिदिने गरिन्छ । श्रीपञ्चमीदेखि लोकमा वसन्तऋतु लाग्ने भएकाले यस दिन कामदेव र रतिको पनि पूजा गरिन्छ । लोकमा वसन्तपञ्चमीदेखि श्रृंगार रसको धून बजाउन थालिन्छ ।

श्रीपञ्चमीका दिन काठमाडौको हनुमानढोका गई राष्ट्रप्रमुखबाट वसन्तश्रवण गर्ने राष्ट्रिय परम्परा छ । वसन्तपञ्चमीलाई रंगको पर्व फागू प्रारम्भ भएको पनि मान्ने गरिन्छ । यसै दिनदेखि वर्षायाम लाग्ने र खेतीपातीका लागि हलोकोदाली तयारपारी पूजा गरेर हलसारो गर्ने पनि चलन छ ।
सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ सरस्वती पूजाको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ।

प्रतिक्रिया दिनुहोस