सुविधासम्पन्न वडा कार्यालय सुशासनको आधार : मेयर दाहाल

सफल खबर संवाददाता

शनिबार, २६ माघ २०७५, १२ : २४
सुविधासम्पन्न वडा कार्यालय सुशासनको आधार : मेयर दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले व्यवस्थित र सुविधासम्पन्न वडा कार्यालय सुशासनको आधार भएको बताउनु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २८ को वडा कार्यालय भवन सिलान्यास कार्यक्रमलाई शनिबार मेघौलीमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

मेयर दाहालले भरतपुर महानगरपालिका प्रभावकारी सेवा प्रवाह गर्दै अगाडि बढिरहेको बताउनु भयो । सुशासनको आधार भनेको ब्यवस्थित र सुविधासम्पन्न कार्यालय भएको बताउँदै उहाँले महानगरपालिकाले अभियानको रूपमा वडा कार्यालयहरू निर्माण गरिरहेको जानकारी दिनुभयो । उहाँले निर्माणाधीन वडा कार्यालय गुणस्तरीय ढंगले समयमै सम्पन्न गर्न निर्माण ब्यावसायीलार्इ आग्नह गर्दै त्यसको रेखदेख र अनुगमन गर्न वडा समिति र प्राविधिकहरूलार्इ निर्देशन दिनुभयो ।

महानगर प्रमुख दाहालले चनौली गौलाघाट सडक आगामी आर्थिक वर्षको बजेटबाट काम सुरू गर्ने गरी काम अगाडि बढिरहेको बताउनु भयो । पश्चिम चितवनलार्इ पर्यटकीय हबको रूपमा विकास गर्ने योजनाकासाथ अगाडि बढिरहेको भन्दै उहाँले सबैलाई रचनात्मक साथ र सहयोग गर्न आग्रह गर्नुभयो । सुशासन कायम गर्दै शिक्षा, स्वास्थ्य, पिउनेपानी, कृषि र पर्यटनको समुचित विकास गर्दै समृद्धिको यात्रा तय गर्न सकिने उहाँको भनाइ थियो । मेघौली क्षेत्रको नदी कटान र जंगली जनावरबाट हुने क्षति न्यूनीकरण गर्न महानगरपालिका कृयाशील रहेको मेयर दाहालले बताउनु भयो ।

भरतपुरले ठूला पूर्वाधार निर्माणलार्इ प्राथमिकतामा राखी काम अगाडि बढाइरहेको बताउँदै उहाँले सिटी हल, रिङरोड, लिंकरोड, सडकहरूको स्तरवृद्धि र कालोपत्रे, नारायणी र रापती नदीको तटबन्धनसहित रिङरोडको डिपीआर भैरहेको बताउनु भयो । महानगर प्रमुख दाहालले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम सुरु भइसकेको जानकारी दिँदै धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्ने क्रिकेट रंगशालाको लागि आवश्यक सहयोग र सहकार्य भरतपुर महानगरको रहने बताउनु भयो । उहाँले अढाई वर्षभित्र क्रिकेट रंगशाला निर्माणको काम सम्पन्न गर्न सबैको साथ र सहयोग अनिवार्य हुने बताउनु भयो ।

महानगर प्रमुख दाहालद्वारा शनिबार शिलान्यास गरिएको दुई हजार स्क्वायर फुटको वडा कार्यालय भवन आठकोठे हुनेछ । ५० लाख रुपैयाँको लागतमा आगामी असार मसान्तसम्म निर्माण कार्य सम्पन्न गरिसक्ने महानगरपालिकाले लक्ष्य लिएको छ। कार्यक्रम वडाध्यक्ष आशबहादुर कुमालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस