सन्दर्भ : विश्व क्यान्सर दिवस

विषादीको प्रयोगले निम्त्याउँछ क्यान्सर रोग

सफल खबर संवाददाता

सोमबार, २१ माघ २०७५, १२ : ११
विषादीको प्रयोगले निम्त्याउँछ क्यान्सर रोग

चितवन । मानिसको जीवनशैली, खानपान तथा वातावरण प्रदुषणका कारण क्यान्सर रोग चुनौतीपूर्ण बन्दै गएको छ । चिकित्सकहरुका अनुसार नेपालमा तरकारी तथा फलफूलमा प्रयोग गरिने विषादी र अन्य खाद्यबस्तुमा हुने  मिसावटका कारण क्यान्सर रोगीहरु बढ्दै गएका छन् ।

धुमपान र मद्यपानका कारण विशेषगरी युवा पुस्ता, वयस्क र वृद्धावृद्धामा क्यान्सर हुने गरे पनि विषादीका कारण सबै उमेर समूहका व्यक्तिलाई क्यान्सर हुने गरेको बीपी कोइराला क्यान्सर अस्पतालका कार्यकारी निर्देशक विजयचन्द्र आचार्य बताउनु हुन्छ । उहांँले भन्नुभयो, ‘खाद्यवस्तुमा प्रयोग भएको विषादीले क्यान्सर रोगीको संख्या बढ्दो छ । धुमपान र मद्यपानभन्दा यो बढी चुनौतीपूर्ण देखिएको छ ।’

उहांँका अनुसार विषादीका कारण आंँखा, छाला, आन्द्रा, आमाशय र स्तनमा क्यान्सरको संक्रमण देखिएको छ । ‘धुमपान र मद्यपानले मुख्यतया फोक्सो तथा कलेजोको क्यान्सर हुन्छ तर विषादीका कारण जुनसुकै अंगमा क्यान्सर हुन सक्छ’ उहांँले भन्नुभयो । विषादीका कारण रक्तक्यान्सर हुनेको संख्यामा समेत वृद्धि भएको उहांँले बताउनु भयो । क्यान्सरका बिरामीको संख्या वृद्धि भएसंँगै उपचार पद्धतिमा समेत नयांँ प्रविधिको प्रयोग भइरहेको उहांँले बताउनु भयो । उहांँका अनुसार तरकारीमा प्रयोग भएको विषादीका कारण बच्चाहरुमा समेत क्यान्सरको लक्षण बढेको छ ।

भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा दैनिक ६ सय जनाभन्दा बढी बिरामी क्यान्सर रोगको उपचारका लागि आउने गरेका छन् । अस्पतालमा भर्ना हुने बिरामीको संख्या ४ सयभन्दा बढी रहेको छ । ‘पहिले पहिले उमेर पुगेका व्यक्तिहरुमा क्यान्सर देखिन्थ्यो, अहिले बच्चा तथा युवापुस्तामा समेत क्यान्सर संक्रमण बढ्दै गएको छ’ अस्पतालका सर्जन डा. गंगा सापकोटाले भन्नुभयो, ‘विषादीको प्रयोगले क्यान्सर रोगीको संख्यामा वृद्धि भएको छ ।’

चीन सरकारको सहयोगमा स्थापना भई २०४९ सालबाट सञ्चालनमा आएको यस क्यान्सर अस्पतालमा हालसम्म करिब ७० हजार क्यान्सर रोगीले उपचार पाइसकेको अस्पतालले जनाएको छ । यस अस्पतालमा अंग प्रत्यारोपण र रगत परिवर्तन गर्नेबाहेक अन्य सबै उपचार सुविधा रहेको छ । नेपालमा क्यान्सर रोगको उपचार गरिने सबैभन्दा बढी सेवा सुविधासम्पन्न अस्पतालको रुपमा यस अस्पताललाई लिने गरिएको छ । यस अस्पतालमा देशका विभिन्न ठाउंँबाट बिरामी आउनुका साथै भारतबाट पनि ठुलो संख्यामा बिरामी आउने गरेका छन् ।

विश्वको तथ्याङ्क हेर्ने हो भने एक वर्षमा १ करोड ८१ लाख मानिसलाई क्यान्सर रोग लाग्ने गरेको छ । त्यस मध्ये पनि करिव ९० लाख मानिसको क्यान्सरबाटै मृत्यु भइरहेको उल्लेख गरिएको छ । नेपालमा आधिकारिक तथ्याङ्क नभएता पनि एक वर्षमा करिब २६ हजार मानिसहरु क्यान्सरबाट पीडित र १९ हजारको मृत्यु भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनीहरुका अनुसार नेपालमा करिब ५०–६० हजार क्यान्सरका विरामीको उपचार भइरको छ । चिकित्सकका अनुसार क्यान्सर जटिल रोगहरु मध्य एक हो । जटिल भएता पनि निको नहुने भन्ने पनि होइन । क्यान्सरको उपचार पद्धतिले अन्य जटिल रोगहरुको तुलनामा निकै फड्को मारिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस