चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

क्रिकेट रंगशालामात्र होइन, खेलकुदकै हब र एकेडेमी बनाइन्छ

सफल खबर संवाददाता

आइतबार, २० माघ २०७५, १४ : ३२
क्रिकेट रंगशालामात्र होइन, खेलकुदकै हब र एकेडेमी बनाइन्छ

चितवन । धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले दुई वर्षभित्र आँखैअगाडि चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ठडिने बताउनु भएको छ । 
भरतपुर १६ मा बन्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाकोे डीपीआर शुभारम्भ कार्यक्रममा प्रमुख अतिथि समेत रहेका फाउन्डेसनका अध्यक्ष कट्टेलले जनताको रंगशाला बन्न लागेको हुँदा हरेक घरलाई सक्दो सहयोग गर्न आह्वान गर्नुभयो । कार्यक्रममा उहाँले भन्नुभयो, ‘आजैबाट रंगशाला निर्माण सुरु भयो, जग्गा सम्याउनेदेखि निर्माण सामग्रीहरु झार्नेसम्मका काम हुन्छन् । आजैबाट डोजर चलाएर जग्गा सम्याउने काम सुरु गरिन्छ ।’ 
डीपीआरको समय ६ महिना राखिएको तर त्यति समय पनि नलाग्ने उहाँको भनाइ थियो । कार्यक्रममा उहाँले भन्नुभयो, ‘यहाँ क्रिकेट रंगशाला मात्र होइन, खेलकुदको हब बनाउने हाम्रो सोच छ । यहाँ फुटबल मैदान बन्छ, एथलेटिक्स बन्छ, भलिबलको खेल मैदान बन्छ, तेक्वान्दो खेल्ने ठाउँ पनि यहाँ बन्छ । यहाँ त खेलकुदको हब बनाइन्छ ।’
अध्यक्ष कट्टेलले सत्प्रतिशत क्रिकेट रंगशाला बन्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो जनताको रंगशाला हो, हरेक चितवनवासीले सहयोग गर्नूस्, हरेक नेपालीले सहयोग गर्नूस् । हामीलाई कुनै लोभलालच छैन, जसरी पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउनूछ ।’
उहाँले यस क्रिकेट रंगशालालाई खेल एकेडेमिक बनाउने प्रतिबद्धता समेत गर्नुभएको छ । ७७ जिल्लाका खेलाडीहरुलाई प्रशिक्षण दिने ठाउँ पनि यहाँ बनाउने अध्यक्ष कट्टेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले खेलाडीको अवस्था कस्तो छ, हामीले देखेको छौँ, अब त्यस्तो अवस्था हुन नदिन हामी सबै लाग्नुपर्छ । रंगशाला बनाएर देखाएपछि विश्वले भन्नेछ, वाह, नेपाल वाह नेपाली ।’
सरकारभन्दा कोही माथि नहुने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘सरकारभन्दा कोही माथि हुँदैनन्, छिटो काम सम्पन्न हुन्छ भनेर सरकारले हामीलाई विश्वास गरेको छ, हामी सरकारभन्दा माथि छैनौँ ।’ कार्यक्रममा उहाँले विश्वलाई नागरिकको तहबाट बनेको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाएर देखाउने प्रतिबद्धतासमेत गर्दै भन्नुभयो, ‘यसमा केवल तपाइँको साथको खाँचो छ, सहयोगको खाँचो छ । सम्पत्ति कमाएर नराख्नूस् चिन्ता बढ्छ, धुर्मुस सन्तलीलाई दिनूहोस् चिन्ता हट्छ ।’ असल काम गरे यहीँ श्वर्ग देख्न पाइने उहाँको भनाइ थियो ।  
उहाँले भन्नुभयो, ‘हामी कलाकारिताबाट सामाजिक अभियन्ता बनेका छौँ, हामीलाई पैसाको कमी थिएन, तर सबैभन्दा ठूलो कुरो आत्मसन्तुष्टि रहेछ, सामाजिक सेवाबाट हामीले आत्मसन्तुष्टि पाएका छौँ ।’ उहाँले सबैलाई आत्मसन्तुष्टि पाउन क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्न आग्रह गर्नुभयो । 
उहाँले रंगशाला बनाउन अहोरात्र आफैँ खटिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो ३ अर्बमा बन्ने परियोजना होइन, हामी आफैँ खटिने, चितवनवासी खटिने, स्वयम्सेवी खटिने भएकाले ३ अर्बमा बन्छ भनेका छौँ ।’ उहाँले नेपालीपनको रंगशाला निर्माणमा निर्धक्क भएर लाग्न आग्रह गर्दै भन्नुभयो, ‘तपाइँको एक रुपैयाँ पैसा हिनामिना हुँदैन, यो त जनताको पसिनाले बन्ने रंगशाला हो । पैसा कुल्याउने हुन् कि भन्ने लागेको पनि होला, तर तपाइँको नाम र सहयोग रकम वेभसाइटमा हुन्छ, भोलिका पुस्ता नाति पनातिसम्मले हेर्न सक्नेछन् ।’
कार्यक्रममा उहाँले हरेक नागरिकलाई एकतामा जोड्ने रंगशाला बन्न लागेको बताउनुभयो । ‘निश्चित वर्गलाई फाइदा पुग्ने गरी हामीले रंगशाला निर्माण गर्न लागेको होइनौँ, यो त जनताको रंगशाला हो, सबै नेपालीको अपनत्व हुन्छ’ अध्यक्ष कट्टेलले भन्नुभयो, ‘चितवन देशकै केन्द्रीय भाग भएको हुनाले हामीले चितवन रोजेका हौँ ।’ उहाँले अहोरात्र खटिएर जग्गा उपलव्ध गराउन सहयोग गर्ने भरतपुर महानगरलाई विशेष धन्यवाद दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस