चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

रंगशाला धुर्मुस सुन्तली फाउण्डेसनले नै बनाउने हो : मेयर दाहाल

सफल खबर संवाददाता

आइतबार, २० माघ २०७५, १४ : १६
रंगशाला धुर्मुस सुन्तली फाउण्डेसनले नै बनाउने हो : मेयर दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रामपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला धुर्मुस सुन्तली फाउण्डेसनले नै बनाउने स्पष्ट पार्नु भएको छ । भरतपुर महानगरपालिका १६, शान्तिचोकमा आइतबार आयोजित रंगशालाको डीपीआर निर्माण शुभारम्भ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले यस्तो बताउनु भएको हो ।

‘जे गर्दा पनि नकारात्मक सोच्ने मानिसहरुले केही टिकाटिप्पणी गर्न थालेका छन्’ उहाँले भन्नुभयो, ‘रंगशाला बनाउने धुर्मुस सुन्तली फाउण्डेसनले नै हो । हामीले आवश्यक सहयोग गर्ने हो । जनताको सहभागितामा राष्ट्रिय गौरवको आयोजना बन्दैछ । जनताको साथले जस्तोसुकै ठूलो कार्य गर्न सकिन्छ । रंगशाला बनाएर देखाउनु छ । अन्तर्राष्ट्रिय क्षेत्रमा यो सन्देश दिनु छ ।’

भरतपुर महानगरमा रंगशाला बन्ने पक्का भइसकेको जानकारी गराउँदै मेयर दाहालले भन्नुभयो, ‘हामी जनतालाई एउटा खुल्दुली भइरहेको थियो । अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्छ कि बन्दैन भन्ने । आज आउँदा त्यो खुल्दुली सकिएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि फाउण्डेसन र महानगरबीच चार दिनअघि काठमाडौंमा रंगशाला निर्माण सम्बन्धी सम्झौता भइसकेको छ ।’

धुर्मुस सुन्तली फाउण्डेसनलाई जनताको अपार माया, साथ र सहयोग रहेको बताउँदै उहाँले भन्नुभयो, ‘भरतपुर महानगरमा रंगशाला निर्माण हुने खबर सुनेर चितवनवासी जनता खुसी छन् । सहयोग जुट्न कठिन हुँदैन भन्ने मैले विश्वास लिएकी छु । संस्थागत हिसाबले यो अभियानमा जुट्नु होस् ।’ रंगशाला निर्माणका लागि आवश्यक रकम जुटाउन राष्ट्रव्यापी र अन्तर्राष्ट्रिय रुपमा सहयोगका लागि आह्वान गर्ने उहाँले बताउनु भयो ।

‘ अब आर्थिक संकलन अभियान अगाडि बढ्ने छअरुको भन्दा चितवनवासीको सक्रियता बढी हुन जरुरी छ’ मेयर दाहालले भन्नुभयो, ‘त्यसको लागि सबै जना जुट्नुहोस् । राष्ट्रिय गौरवको आयोजनामा कसैको पनि विमति छैन । राजनीतिक पूर्वाग्रह वा संकोच छैन । कुनै पनि खालको आग्रह पूर्वाग्रहभन्दा माथि उठेर रंगशाला निर्माणको काम सम्पन्न गर्न सबै जना आआफ्नो ठाउँबाट जुटौँ ।’

उहाँले सरकारले केही गर्न सकेन, सरकार निकम्मा छ भन्नेजस्ता टिकाटिप्पणीले आफू विचलित नहुने बताउनु भयो । ‘राज्यको ठूलो लगानी वा विदेशी दाताको पैसाले होइन, जनताको साथ, सहयोग र सहभागिताले रंगशाला निर्माणका लागि फाउण्डेशन जुटेको छ’ उहाँले भन्नुभयो, ‘आउनुहोस्, हामी सबै मिलेर धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग गरौं । राष्ट्रिय गौरवको अभियानमा सबै नागरिक जुटौँ । व्यक्तिगत हिसाबले, संस्थागत हिसाबले सहयोग गरौँ ।’

भरतपुरको विकास हेर्न चाहनेहरुलाई अबको दुई वर्षपछि चितवन आउन आग्रह गर्दै उहाँले भन्नुभयो, ‘सडक पूर्वाधारका योजना अगाडि बढेका छन् । सिटी हल, बहुउद्देश्यीय भवन, पार्क लगायतका विकासले भरतपुर नमुना बन्नेछ दुई वर्षमा । भरतपुर महानगरमा रंगशाला निर्माणमा जुटेको धुर्मुस सुन्तली फाउण्डेसन, यसका अध्यक्ष सिताराम कट्टेल धुर्मुस र उपाध्यक्ष कुञ्जना घिमिरे सुन्तलीलाई विशेष आभार व्यक्त गर्दछु ।’

 

प्रतिक्रिया दिनुहोस