प्रदेशको राजधानी र नामकरण हिउँदे अधिवेशनमा टुङ्गो लगाइन्छ : मुख्यमन्त्री राई

आइतबार, २० माघ २०७५, १३ : ३५
प्रदेशको राजधानी र नामकरण हिउँदे अधिवेशनमा टुङ्गो लगाइन्छ : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश राजधानी र नामकरण प्रदेशसभाको आजदेखि शुरु हुने हिउँदे अधिवेशनमा टुङ्ग्याइने बताउनुभएको छ । 

आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले सकेसम्म राजनीतिक दलहरुको सहमति र नभए प्रक्रियाबाट प्रदेशको राजधानी र नामकरण टुङ्गो लाग्ने जानकारी दिनुभयो । प्रदेशसभाको दोस्रो अधिवेशनसम्ममा महत्वपूर्ण २४ विधेयक पारित भइसकेको उल्लेख गर्दै उहाँले चालू अधिवेशनमा प्रक्रियामा रहेका आठ विधेयक समितिमा र चार संसद्मा दर्ता गरिएका जानकारी दिनुभयो । 

उहाँले अत्यावश्यक थप १० विधेयक संसद्मा ल्याउने तयारी भइरहेकाले तेस्रो अधिवेशनमा संसदीय समितिको सभापति चयन गर्ने कार्यसूची पनि रहेको बताउनुभयो । मुख्यमन्त्री राईले प्रदेश १ लाई खाद्यान्नमा आत्मनिर्भर बनाउन कृषिलाई उच्च प्राथमिकता राखिएको जानकारी गराउनुभयो । 

स्वच्छ वातावरण र हरियाली प्रदेश बनाउन प्रदेश सरकारले यही माघ २६ गते हरियाली अभियान सञ्चालन गर्ने जानकारी दिँदै उहाँले भौगोलिक अवस्था, जनसङ्ख्या र जातीय विविधतालाई ध्यानमा राखेर सबैको भावनालाई कदर हुने हिसाबले प्रदेशको राजधानी र नामकरण हुने धारणा राख्नुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस