अनमोल केसी अभिनित ‘क्याप्टेन’ ट्रेलरको किर्तिमानी रेकर्ड

शनिबार, १९ माघ २०७५, १६ : ३०
अनमोल केसी अभिनित ‘क्याप्टेन’ ट्रेलरको किर्तिमानी रेकर्ड

काठमाडौँ । सुपरस्टार अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’ ट्रेलरको किर्तिमानी रेकर्ड कायम गरेको छ । चलचित्र कृ’ रिलिज भएसँगै स्टारडम कमजोर देखिएका अनमोल पुनः आफ्नो क्रेजलाई लयमा फर्काउन सफल भएका छन् । शुक्रबार दिउँसो उनी अभिनित चलचित्र ‘क्याप्टेन’ ट्रेलरलाई युट्युबमा अपलोड भएको २४ घण्टामा ८ लाखभन्दा बढीले हेरिसकेका छन् ।

आजसम्म कुनै नेपाली फिल्मको ट्रेलरले रिलिजको २४ घण्टामा ८ लाख ’प्लस’ भ्यूज बटुल्न सकेका थिएनन् । यसअघि ’छक्का पञ्जा ३’ को ट्रेलरलाई रिलिजको २४ घण्टामा करीब ७ लाख पटक हेरिएको थियो । साथै, ’कृ’, ’ए मेरो हजुर ३’ र ’दुई रुपैयाँ’ को ट्रेलरमाथि ५ लाख बढीको नजर परेको थियो ।
 
‘क्याप्टेन’ ट्रेलरप्रति हजारौं कमेन्ट सकारात्मक आएका छन् । ट्रेलरलाई युट्युबमा ४२ हजार बढीले लाइक्स गरेका छन् । ’ऐश्वर्य’ फेम्ड निर्देशक दीवाकर भट्टराई निर्देशित यस फिल्मले अहिलेसम्मकै सर्वा्धिक ओपनिङ कलेक्सनमा रेकर्ड राख्ने अनुमान गरिएको छ । फिल्म फागुन १७ मा रिलिज हुँदैछ ।
 
फिल्मको ट्रेलरमा खेलाडीमा देशप्रेमको भावना जगाउन भारतसँगको नाकाबन्दी र सीमा द्वन्द्वको विषय उठाइएको छ । फुटबलमा देशलाई गोल्ड मेडल जिताउने अठोट बोकेको एक युवकको जीवनमा आउने अनेकौं उचारचढावमा फिल्म आधारित रहेको ट्रेलरले भन्छ । ट्रेलर हेर्ने सबैले अनमोलको रोमान्टिक र खेलाडी अवतारलाई खुब रुचाएका छन् ।
 
फस्टलुक पोस्टरमा देखिएको अनमोलको खेलाडी लुक्स र हालसालै सावैजनिक भएको ’रहर छ सँगै’ बोलको रोमान्टिक गीतले फिल्मको लोभलाग्दो हाइप निर्माण गरिसकेको अवस्थामा सार्वजनिक ट्रेलरले ‘क्याप्टेन’ प्रति दर्शकमा कौतुहलता र उत्सुकता बढाएको छ । ’अनमोलका फिल्ममा कन्टेन्ट हुँदैनन’ भन्ने आरोपबाट यो फिल्म मुक्त हुने संकेत पनि ट्रेलरले देखाएको छ ।
 
यस फिल्ममा अभिनेत्री द्वय उपासना सिंह ठकुरी र प्रियंका एमभीसँग अनमोलको जोडी बाँधिएको छ । सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, राजाराम पौडेललगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्मका निर्माता भुवन केसी हुन् । यसमा पटकथा सामिप्यराज तिमल्सिनाको हो ।
ट्रेलर हेर्नुहोस् :-

 

 

प्रतिक्रिया दिनुहोस