यी हुन बलिउडमा प्रवेश गर्ने ‘फ्रेस फेस’

शुक्रबार, १८ माघ २०७५, १८ : ४५
यी हुन बलिउडमा  प्रवेश गर्ने ‘फ्रेस फेस’

सन् २०१८ मा बलिउडमा केही नयाँ अनुहारले ‘इन्ट्री’ गरेका छन्। यस वर्ष डेब्यू गर्नेमध्ये धेरै सेलिब्रिटीका छोराछोरी हुन्।

जान्ह्वी कपुर
फिल्म ‘धडक’ बाट अभिनेत्री जान्ह्वी कपुरले डेब्यू गरेकी छिन्। फिल्मबाट उनले ठीकठीकै प्रतिक्रिया पाइन्। फिल्म सय करोड क्लबमा सामेल भएको छ। जान्ह्वी अभिनेत्री श्रीदेवी र निर्माता बोनी कपुरकी छोरी हुन्। फिल्मको रिलिज मिति नजिकिँदै गर्दा अभिनेत्री श्रीदेवीको निधन भएको थियो।

इशान खट्टर
अभिनेता इशान खट्टरको पहिलो फिल्म हो, ‘धडक’। इशान अभिनेता शाहिद कपुरका भाइ हुन्। बलिउडका लागि ‘धडक’ उनको डेब्यू फिल्म भए पनि यसअघि उनी विश्वप्रसिद्ध निर्देशक माजिद मजिदीको फिल्म ‘बियोन्ड द क्लाउड्स’ मा मुख्य भूमिकामा देखिएका थिए। शाहिदको फिल्म ‘वाह, लाइफ हो तो ऐसी’ मा पनि उनले बालकलाकारका रूपमा अभिनय गरेका छन्। फिल्म ‘धडक’ मा समीक्षकबाट उनले खूब प्रशंसा बटुलेका छन्।

सारा अली खान
अभिनेता सैफ अली खान र अभिनेत्री अमृता सिंहकी छोरी सारा अली खानले फिल्म ‘केदारनाथ’ बाट बलिउडमा प्रवेश गरेकी छिन्। फिल्म हिट भएको छ। फिल्मले राम्रो आम्दानी गरेको छ। फिल्ममा अभिनेता सुशान्त सिंह राजपुत र सारा मुख्य भूमिकामा छन्। डिसेम्बरको अन्तिमतिर सारा अभिनेता रणवीर कपुरसँग फिल्म ‘सिम्बा’ मा देखिनेछिन्।

मौनी राय
यस वर्ष अभिनेत्री मौनी रायले पनि बलिउडमा फिल्म ‘गोल्ड’ बाट डेब्यू गरेकी छिन्। भारतीय टेलिभिजन कलर्सबाट प्रसारण हुने टेलिसिरियल ‘नागिन’ बाट प्रख्यात भएकी मौनी फिल्ममा अभिनेता अक्षय कुमारसँग देखिएकी थिइन्।

आयुष शर्मा
फिल्म ‘लभयात्री’ बाट यस वर्ष आयुष शर्मा बलिउडमा भित्रिए। उनी अभिनेता सलमान खानका बहिनी ज्वाइँ हुन्। फिल्मले राम्रै चर्चा पाए पनि कमाइका हिसाबले खासै सफल हुन सकेन। अन्नपूर्णपोस्ट

प्रतिक्रिया दिनुहोस