महिला पत्रकारको जिम्मेवारी महत्वपूर्ण : अध्यक्ष प्रचण्ड

सफल खबर संवाददाता

विहीबार, १७ माघ २०७५, १२ : ००
महिला पत्रकारको जिम्मेवारी महत्वपूर्ण : अध्यक्ष प्रचण्ड

चितवन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजमा रहेको विसंगति र विभेदको अन्त्यका लागि महिला पत्रकारको जिम्मेवारी बढी महत्वपूर्ण र संवेदनशील रहेको बताउनु भएको छ । चितवनको पटिहानीमा बिहीबार महिला पत्रकारहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

‘देशैभरिबाट महिलाहरु राष्ट्रिय सम्मेलनमा जम्मा हुनु भएको छ । राज्यको चौथो अंग त्यसमाथि पनि महिला पत्रकारको जिम्मेवारी स्वतः बढी महत्वपूर्ण र संवेदनशील पनि छ’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘महिलाहरुको नेतृत्व विकास जति हुन्छ, त्यति नै समाजमा रहेको विसंगति र विभेदको अन्त्य हुने वातावरण बन्छ भन्ने मेरो विश्वास छ ।’ समावेशी र समानुपातिक प्रतिनिधित्वसहितको राज्यको परिकल्पना गर्ने कुरामा नेपालको संविधान धेरै अगाडि रहेको उहाँको भनाइ छ ।

‘संविधान प्रेस स्वतन्त्रता बारेमा, महिलाका हक अधिकारका बारेमा र समग्रमा समावेशी र समानुपातिक व्यवस्था बारेमा धेरै अगाडि छ’ उहाँले भन्नुभयो, ‘संविधानमा धेरै सकारात्मक र प्रगतिशील कुराहरु राखिएको छ, धेरै लोकतान्त्रिक कुरा राखिएको छ । यतिबेलाको ममुख्य चुनौती भनेको संविधान र कानुनमा व्यवस्था भएका संविधान र कानुनमा व्यवस्था भएको लोकतान्त्रिक अधिकार र महिला सशक्तिकरणका प्रावधानको कार्यान्वयन नै हो । कार्यान्वयनकै क्रममा अधिकारलाई परिमार्जित गर्दै लैजाने हो ।’ यो भएन, त्यो भएन भन्दा पनि भएका प्रावधानलाई व्यवहारमा उतार्नु पर्ने उहाँको धारणा छ ।

प्रतिक्रिया दिनुहोस