योजना निर्माणमा तीन तहको सहकार्य आवश्यक : मुख्यमन्त्री पौडेल

बुधबार, १६ माघ २०७५, २० : ३१
योजना निर्माणमा तीन तहको सहकार्य आवश्यक : मुख्यमन्त्री पौडेल

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले तिनै तहका सरकारबीचमा समन्वय र सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ ।

राष्ट्रिय योजना आयोगको १५औँ योजना आधारपत्रमा अन्तरक्रिया एवं राय सङ्कलनका लागि आज यहाँ आयोजित प्रदेशस्तरीय परामर्श बैठकमा मुख्यन्त्री पौडेलले तीन तहका सरकार तीन तिर फर्केर र एकले अर्काेलाई असहयोग गरेर राष्ट्रको विकास सम्भव हुदैन भन्नुभयो ।

मुख्यमन्त्री पौडेलले तिनै तहको सरकार र राष्ट्रिय योजना आयोग एवं प्रदेश नीति तथा योजना आयोगले खुद्रे योजना बनाउन नहुने उल्लेख गर्नु भयो । योजना आयोगले राष्ट्रिय गौरवका महत्वपूर्ण योजनालाई प्राथामिकतामा राख्नुपर्ने उहाँको धारणा थियोे ।

“चालू आर्थिक वर्षका प्रदेशका कतिपय योजना पनि नमिलेको महसुस भएको छ, अर्को वर्षका योजनालाई योजना बैंकमा समावेश गरेर मिलाउनुपर्छ” उहाँले भन्नुभयो । मुख्यमन्त्री पौडेलले केन्द्र, प्रदेश तथा स्थानीय सरकारलाई समृद्धि उन्मुख योजना बनाउन आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले आगामी वर्षको योजना निर्माणमा स्थानीय सरकारको तर्पmबाट सल्लाह सुझावको अपेक्षा गरिएको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस