विश्वमा नेपाललाई चिनाउने नयाँ आयामको थालनी : अध्यक्ष प्रचण्ड

सफल खबर संवाददाता

बुधबार, १६ माघ २०७५, १७ : ४३
विश्वमा नेपाललाई चिनाउने नयाँ आयामको थालनी : अध्यक्ष प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वमा नेपाललाई चिनाउने नयाँ आयामको थालनी भएको बताउनु भएको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा बुधबार आयोजित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण घोषणा तथा भरतपुर महानगरपालिका र धुर्मुस सुन्तली फाउण्डेशनबीच सहमतिपत्रमा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

‘विश्वमा नेपाललाई चिनाउने नयाँ आयामको थालनी भएको छ’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘अब नेपालको चिनारी विश्वमा नयाँ ढंगले हुँदैछ । यसमा हातेमालो गर्ने संकल्प गरौं । देश बनाउन ढिलो हुँदैन । आज ऐतिहासिक काम भएको छ ।’ राम्रो कामको लागि एकजुट भएर लाग्ने प्रेरणा आजको कार्यक्रमले दिएको उहाँको भनाइ थियो । ‘राष्ट्रिय एकताको सपना, देशको समृद्धिको लागि राष्ट्रिय संकल्पको सपना साकार पार्ने कार्यक्रम हो यो’ उहाँ भन्नुभयो ।

‘राजनीतिलाई सफा गर्ने जिम्मेवारी राजनीतिज्ञै हुन्छ । अबको दस वर्षमा नेपालको राजनीति सफा हुनेछ’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘सिंगो देशलाई नयाँ दिशातिर लिएर जानेछ ।’ धुर्मुस सुन्तली फाउण्डेशनले जनताको मायालाई राष्ट्र निर्माणको काममा रुपान्तरण गरेर काम गरेको धारणा राख्दै उहाँले भन्नुभयो, ‘कलाकारिताको माध्यमबाट समाज रुपान्तरणको काम गर्नु भएको छ धुर्मुस र सुन्तलीले ।’

स्वास्थ्यको लागि खेल, राष्ट्रको पहिचानको लागि खेल, समृद्धिको लागि खेल, अर्थतन्त्र र सँस्कृतिको लागि खेल बन्नुपर्ने उहाँको भनाइ थियो । ‘राष्ट्रलाई एकतावद्ध गर्नको लागि खेल महत्वपूर्ण माध्यम बन्न सक्छ’ उहाँले भन्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस