काठमाडौं । हृदयाघातका कारण सोमबार अचानक अस्वस्थ भएका पूर्वयुवराज पारस शाहको स्वास्थ्य अवस्थामा सुधार आएको छ । उनलाई थापाथलीस्थित नर्भिक अस्पतालको आकस्मिक उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको थियो । स्वास्थ्य अवस्थामा सुधार आएपछि पूर्वयुवराज शाहलाई नर्भिक अस्पतालको आईसीयूबाट क्याबिनमा सारिएको छ ।
शाह सोमबार सवा चार बजे नर्भिक अस्पताल भर्ना भएका थिए। पूर्णतया बन्द रहेको उनको मुटु सोमबार एन्जियोप्लाष्टी गरी चलायमान गराइएको थियो। उनको उपचारमा चिकित्सकलाई ‘हाइ अलर्टमा राखिएको छ। उनलाई मेजर हार्टअट्याक भएको नर्भिकले जनाएको छ। ‘इसिजी, रगत लगायत धेरै टेस्ट भएका छन्, रिपोर्ट आउन बाँकी छ’ नर्भिक अस्पतालका सूचना अधिकारी आरपी मैनालीले भने, ‘रिपोर्टहरू आएपछि मात्र उहाँको बारेमा थप बताउन सकिन्छ।’
छोरा पारसको स्वास्थ्य अचानक बिग्रिएपछि पूर्वरानी कोमल शाह सोमबार राति सिमराबाट स्थलमार्ग हुँदै राति साढे १० बजे नर्भिक अस्पताल आइपुगेकी छिन् । पूर्वराजा ज्ञानेन्द्र शाह भने सिमरामै छन् । पूर्वराजा तथा पूर्वरानी १ महिनाको कार्यक्रमको लागि सिमरा गएकोमा छोरा बिरामी परेपछि पूर्व रानी एक्कासी फर्कनु परेको हो । पारिवारिक स्रोतका अनुसार सिमरामा रहेपनि पूर्वराजा शाहले छोरा पारसको स्वास्थ्य अवस्थाका बारेमा नियमित रुपमा जानकारी लिइरहेका छन् । पूर्वयुवराज्ञी हिमानी हिमानी दुई छोरीको पढाईको सिलसिलामा अहिले थाइल्यान्ड छिन् । पारसका छोरा हृदयेन्द्र भने रातिसम्म अस्पतालमा बाबुसँगै रहेका थिए । पूर्वयुवराज पारसको स्वास्थ्यमा सुधार आइसकेकोले अस्पतालबाट चाँडै डिस्चार्ज हुने सम्भावना रहेको बताइएको छ ।
शाहलाई यसअघि दुई पटक हृदयाघात भइसकेको थियो । एक वर्षयता पारसले मुटु रोगसम्बन्धी औषधी सेवन गरेका थिएनन् । सन् २००८ मा पारसको दायाँ कोरोनरी धमनीमा ब्लकेज भएपछि एन्जिओप्लास्टी गरेर ब्लकेज खोली स्टेन्ट हालिएको थियो । थाइल्याण्डमा रहँदा पनि सन् २०१३ फेब्रुअरीमा पारसलाई हृदयघात भएको थियो । त्यतिबेला उनलाई के समस्या भएको थियो भन्ने थाहा हुन सकेको छैन ।
२०१५ जुलाईमा उनको बायाँतिरको धमनी (लेफ्ट एन्टेरियर डिसेन्डिङ) ब्लकेज भएपछि नर्भिक अस्पतालमै भर्ना गरेर खुलाइएको थियो । मुटुमा रहेका मांशपेशी सञ्चालनका लागि हुने रक्तसञ्चार प्रणालीमा यी एलएडी (लेफ्ट एन्टेरियर डिसेन्डिङ) को भूमिका अहम् हुन्छ । त्यतिबेला पूर्वयुवराज पारसको छातीमा आइसिडी (इम्प्लान्टेबल कार्डियोभर्टर डिफिब्रिलेटर) राखिएको थियो । आइसिडीले मुटुको गति निगरानी गर्छ । गति अनियमित हुँदा विद्युतीय सिग्नल पठाएर नियन्त्रण गर्छ ।
सोमबार दिउँसो अस्पताल ल्याउँदा पारसको एलएडी ब्लकेज थियो। अस्पताल ल्याउँदा पारसको मुटुको इजेक्सन फ्र्याक्सन (मुटुले रगत पम्प गर्ने मात्रा) १५ प्रतिशत मात्र थियो । सामान्य अवस्थामा यो ६० देखि ७० प्रतिशतसम्म हुन्छ । ब्लकेज खुलाएर स्टेन्ट्ट हालिसकेपछि उनको इजेक्सन फ्र्याक्सन २५ प्रतिशत पुगेको छ ।
हृदयघात हुँदा मस्तिष्क र अन्य अंगमा पनि असर पर्न सक्छ। पारसका कुन कुन अंगमा असर परेको छ भनेर सबै परीक्षण हुन बाँकी छ। होसमै भएकाले मस्तिष्कमा असर परेको छैन भन्ने अनुमान गरिएको छ । पूर्वयुवराज पारस कसरी निको हुन्छन् भन्ने निर्धारण उनको इजेक्सन फ्र्याक्सन सुधार हुन्छ कि हुन्न भन्नेले गर्छ। उनको इजेक्सन फ्र्याक्सन राम्रो हुँदै गयो भने उनको अवस्था पनि सामान्य हुनेछ । इजेक्सन फ्र्याक्सन २५ प्रतिशतकै हाराहारीमा हुँदा पनि मान्छे बाँचेका उदाहरण छन् । त्यसका लागि बिरामीले निकै अनुशासित जीवनशैली अपनाउनु पर्छ, जुन पारसले अहिलेसम्म अवलम्बन गरेका छैनन् ।
सोमबार दिउँसो उनको मुटुको भल्बमा समस्या भइ हृदयघात भएको हो । छातीमा असह्य पीडाको महसुस गरेका पूर्वयुवराज पारसलाई अपरान्ह ४ः१५ बजे नर्भिकको आकस्मिक कक्षमा लगिएको थियो । उनको उपचारमा प्राडा यादवदेव भट्ट लगायत डा. जेपी जैसवाल, डा नग्मा श्रेष्ठ, डा. सन्तोष श्रेष्ठ र एनेस्थेसियोलोजिष्ट डा. प्रज्वल श्रेष्ठको टोली संलग्न रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ माघ २०७५, १३ : २५
लेखकबाट थप