समृद्ध मुलुक बनाउन उत्पादनमूलक क्षेत्रमा लगानी

शुक्रबार, ११ माघ २०७५, २१ : ०१
समृद्ध मुलुक बनाउन उत्पादनमूलक क्षेत्रमा लगानी

फाईल तस्विर

चरिकोट । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले समृद्ध नेपाल निर्माणको लागि उत्पादन तथा परिणाममुखी क्षेत्रमा लागनी गर्नुपर्ने बताउनुभएको छ ।
दोलखाको भीमेश्वर नगरपालिको २३औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले हरेक तहबाट गैरउत्पादनमूलक क्षेत्रमा मात्र लगानी गरिरहेको र त्यस्ता लगानीले समृद्ध मुलुक निर्माण हुन नसक्ने बताउनुभयो ।
प्रदेश सरकार गठनको १० महीना बितिसक्दा पनि काम गर्न नसकेको आरोप लगाए पनि ४० प्रतिशत कर्मचारीको भरमा प्रदेश सरकारले अधिकतम काम गरेको उहाँले दाबी गर्नुभयो ।
भीमेश्वर नगरपालिका–९ डाङ्डुगे डाँडामा निर्माण हुन लागेको नेपालकै पहिलो चलचित्र नगरी पछिल्लो समय केही कारण काम रोकिएता पनि सोही ठाउँमा निर्माण हुने मुख्यमन्त्री पौडेलले बताउनुभयो ।
सांसद पार्वत गुरुङले आफूहरु पर्यटकीय विकाससँगै दोलखालाई प्राङ्गारिक जिल्ला बनाउन लागेको बताउनुभयो । कार्यक्रममा भीमेश्वर नगरपालिकाको प्रचारप्रसारमा सहयोग गरेको भन्दै पत्रकार चिरञ्जीवी मास्के, रवीन्द्र गौतम, जीवन लामा, बाबुराम शर्मा, लक्ष्मण खड्कालाई नगद रु पाँच हजारसहित सम्मान गरिएको थियो ।
सोही अवसरमा दोलखा जिल्लाका जनप्रतिनिधि र कर्मचारीबीच भएको फुटबल प्रतियोगितामा कर्मचारीले जनप्रतिनिधिलाई दुई गोल गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस